पहिराले पुरिएर तनहुँमा एक महिलाको मृत्यु

रासस

विहीबार, २४ असार २०७८, १३ : ०५
पहिराले पुरिएर तनहुँमा एक महिलाको मृत्यु

सांकेतिक तस्वीर

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ । 

बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारु मगरले जानकारी दिए । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उहाँको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् । 

“घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिराले पु¥यो,” उनले भने, “मृतकको शव निकाल्न सकिएको छैन ।” पहिराले पुरिएर आज नै ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी छ । 

पहिराले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाका सभापति ईन्द्र आलेले जानकारी दिए । उनका अनुसार ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा परेको भने ऋषिङ–६ मा दुई घर र केही गोठ जोखिममा छन् । 

त्यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मयोति विद्यालय भवन जोखिममा परेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वर्षासँगै आएको पहिराले गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिरा गएका छन् भने बाटो अवरुद्ध भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस