ज्याला नपाएपछि मजदुरले टेलिकमको टावर बन्द गरेपछि तीन जिल्लाको फोन सेवा अवरुद्ध

रासस

विहीबार, २४ असार २०७८, ११ : ३६
ज्याला नपाएपछि मजदुरले टेलिकमको टावर बन्द गरेपछि तीन जिल्लाको फोन सेवा अवरुद्ध

काठमाडौ । नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका– ८ गराइलाको टावर बन्द गरेका छन् ।

डोल्पा, रुकुमपश्चिमको गोतामकोटको टावरलाई लिङ्क दिनका लागि यो टावर निर्माण गरिएको थियो । टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए । हप्ता दिनदेखि टावर बन्द गरिँदा जाजरकोटको नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावर बन्द भएका छन् ।

मजदुरले रकम नपाएसम्म टावर नखोल्ने अडान लिएका कारण समस्या भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ । झण्डै दुई लाख ठेकेदारले मजदुरलाई दिन बाँकी रहेको पीडितले बताएका छन् ।करिब दुई वर्ष लगाएर निर्माण गरिएको टावर सञ्चालनमा आएको तीन महिना नबित्दै मजदुर आन्दोलित भएका थिए । टावर नहुँदा आर्थिक वर्षको अन्तिममा समस्या भएको डोल्पा मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताए ।

मजदुरलाई पटकपटक आग्रह गर्दा पनि टावर नखोल्दा समस्या भएको जाजरकोट नेपाल टेलिकमका प्रमुख गोविन्द्र अधिकारीले बताए । ठेकेदारको बदमासीले गर्दा मजदुर मर्कामा परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस