भारतीय प्रधानमन्त्री मोदीलाई बंगलादेशी समकक्षीबाट २ हजार ६ सय किलो आँप उपहार

एजेन्सी

विहीबार, २४ असार २०७८, ०९ : १०
भारतीय प्रधानमन्त्री मोदीलाई बंगलादेशी समकक्षीबाट २ हजार ६ सय किलो आँप उपहार

एजेन्सी । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई उपहारस्वरूप २ हजार ६ सय किलो आँप पठाएकी छिन् ।

रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको सो आँप आइतबार बेनापोल हुँदै भारत प्रवेश गरेको थियो । हसिनाले राष्ट्रपति रामनाथ कोविन्दलाई पनि उपहारस्वरूप आँप पठाएकी छन् ।

कोलकातास्थित बंगलादेशका उप उच्चायोगका प्रथम सचिव (राजनीतिक) मोहम्मद समीउल कद्दारले आँप प्राप्त गरेका थिए । बेनापोल भन्सार विभागका उपयुक्त अनुपम चकमाले आँप दुई देश बीचको मित्रताको स्मृति चिन्हको रूपमा रहेको बताएका छन् ।

बंगलादेशका बेनापोल नगरपालिकाका मेयर अशरफुल आलम लिटन, शार्शा जिल्ला निर्वाही अधिकारी मीर अलिफ रेजा, बेनापोल बन्दरगाहका उपनिर्देशक ममुन कबिर तराफदार पनि उच्चायोगमा उपस्थित थिए ।

प्रधानमन्त्री हसिनाको बंगलादेश सीमासँग जोडिएका आसाम, मेघालय, मिजोरम र त्रिपुरा राज्यका मुख्यमन्त्रीहरूलाई पनि उपहारस्वरूप आँप पठाउने योजना रहेको बुझिएको छ । यसअघि पनि प्रधानमन्त्री हसिनाले भारतीय नेतृत्वलाई उपहार पठाइसकेकी छिन् । दक्षिण एसियाली कूटनीतिमा आँप र मिठाइ उपहारस्वरूप पठाउनु सामान्य हो ।