चितवनमा निषेधाज्ञा थपियो, सार्वजनिक सवारी चलाउन दिइने

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १८ : १३
चितवनमा निषेधाज्ञा थपियो, सार्वजनिक सवारी चलाउन दिइने

चितवन । चितवनमा एक हप्ता निषेधाज्ञा थपिएको छ । भोलि राति १२ बजेदेखि लागू हुने गरी असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो ।
चितवनका सीडीओ प्रेमलाल लामिछानेले जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिइने बताए ।

जोर बिजोर प्रणालीमा सवारी चलाउन पाउने आदेशमा उल्लेख छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने, चालक सहचालकले अनिवार्य मास्क र भाइजर लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमण गर्ने सर्त पालना गरेपछिमात्रै 
सवारी चलाउन पाइने छ । 
अत्यावश्यक सवारी, खाद्यान्न, निर्माण सामाग्री ढुवानी गर्ने, मालवाहक सवारीसाधन, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन कार्यमा प्रयोग हुने सवारी भने चल्न पाउने छन् । राजमार्ग भई अन्य जिल्लामा जाने सवारीहरु पनि चल्न पाउने छन् ।  पसलहरु विहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुल्न पाउने भएका छन् ।

खाजाघर, रेष्टुरेण्ट, मिठाई पसलबाट टेकअवे र होमडेलिभरी विहान ११ बजेदेखि साँझ ७ बजेसम्म गर्न पाइने उल्लेख छ । तर, सिनेमा, पार्टी प्यालेस, व्युटिपार्लर, सैलुन खोल्न पाइने छैन । सभा, सम्मेलन, जात्रा, महोत्सवमा भने रोक लगाइएको छ ।
 चितवनमा असार १६ देखि सबै सरकारी कार्यालय खुलेका छन् । 

प्रतिक्रिया दिनुहोस