एमाले विवाद : माधव–ओली दुबैलाई मिलाउन ‘विन–विन’को खोजी !

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १७ : ५९
एमाले विवाद : माधव–ओली दुबैलाई मिलाउन ‘विन–विन’को खोजी !

काठमाडौँ । नेकपा एमालेको विवाद मिलाउन केपी शर्मा ओली र माधव नेपाल दबैले जित्ने गरी ‘विन–विन’को खोजी गरिएको छ । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरूले विवाद समाधान उन्मुख भएको बताउँदै दुबै नेताले जित्ने गरी ‘विन–विन’को खोजी गरिएको बताएका छन् ।

माधव नेपाल समूहले अदालतमा बुझाएको हस्ताक्षर र अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनको विषयमा विनविनको वातावरण ल्याउन नेताहरु लागिरहेका छन् । हस्ताक्षर र विघटन दुबै गलत भएको कारण सहमतिको भाषाको समेत खोजी गरिएको छ । हस्ताक्षर र विघटनमा मौन रहने अवस्था सिर्जना गर्ने गरी विवाद समाधानको बाटो तय भएको एमाले एक नेताले बताए ।

कार्यदलका एक सदस्यका अनुसार एमाले केन्द्रीय कमिटीको सङ्ख्या र माओवादीबाट एमाले आएका नेताहरूको व्यवस्थापनमा समस्या छैन । 
प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन र विघटनविरुद्ध खनाल–नेपाल पक्षका नेताहरूले गरेको हस्ताक्षर दुवै गलत भए पनि ती विषयको सम्बोधन गर्ने भाषा कस्तो प्रयोग गर्ने भन्नेमा कार्यदलमा सहमति हुन सकेको छैन ।

कुन भाषा प्रयोग गर्ने भन्नेमा नेताहरुबीच छलफल भए पनि एक पक्षले प्रस्ताव गरेको भाषा अर्को पक्षले अस्वीकार गरेको बताइएको छ । त्यसपछि मध्यमार्गी उपाय लगाएर साझा भाषा खोज्नेमा नेताहरू लगभग सहमति नजिक पुगे पनि उक्त भाषा के उल्लेख गर्ने भन्नेमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता गराउने प्रयासमा नेताहरू लागेका छन् ।

स्रोतका अनुसार कार्यदलभित्र सहमति खोज्ने विषयमा प्रतिनिधि सभा विघटन र पुनर्स्थापनाका लागि गरिएका हस्ताक्षरबारे कुनै शब्द नै उल्लेख नगर्ने सम्भावना छ । यसो गर्दा दुवै पक्ष ‘वीनवीन’ हुने एमाले नेताहरूको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस