हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

रासस

मंगलबार, २२ असार २०७८, १२ : ४२
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाकी एक गर्भवतीको स्वास्थ्यचौकीमा सुत्केरी हुन नसक्दा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको  छ ।

सोही गाउँपालिका–३ गोत्रीकी १८ वर्षीया कमला विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत कोल्टीमा उद्धार गरेर नेपालगञ्ज लगेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीका अनुसार गर्भवती विष्टका पेटमा शिशु उल्टो भएकाले जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार गरी कोहलपुर मेडिकल कलेजमा लगिएको हो ।

कम  उमेरमै विवाह गरेका कारण शिशु पाउन नसक्दा र पेटमा उल्टो भएका कारण कोल्टीमा  सुत्केरी गराउन नसकी बाहिर पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।