पृथ्वीसुब्बा गुरुङले ४ घण्टा सम्म माधव नेपाललाई भेटेर के भने ?

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, ०८ : १७
पृथ्वीसुब्बा गुरुङले ४ घण्टा सम्म माधव नेपाललाई भेटेर के भने ?

काठमाडौं । एमालेभित्रको अन्तरसंर्घष निर्णायक मोडमा छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीको कार्यशैलीले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरु असन्तुष्ट छन् । ओलीको सरकार विरुद्धमा नेपाल सहितका २३ सांसद विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्तावको पक्षमा उभिएका छन् ।
 
आफ्नै पार्टीका अध्यक्षका विरुद्ध विपक्षी गठबन्धनका नेता लाई साथ दिँदै माधव नेपाल दह्रो गरी उभिन पुगेपछि एमालेभित्र खैलाबैला मच्चिएको छ । ओली आफनो सन्निकटको संकट टार्न अहिले अनेक उपायको खोजीमा छन् । त्यसक्रममा उनले माधव नेपाल पक्षको मागकै आधारमा एमालेलाई  २०७५ जेठ २ मा फर्काउन तयार भएको छ । 

हिजो मंगलबार उनले स्थायी समितिको बैठक बोलाएर एमालेलाई पूरानै संरचनामा फर्काइएको र महाधिवेशन आयोजक कमिटि भंगको निर्णय लिएका थिए । तथापी, आज आयोजक कमिटिको बैठक भने बस्ने ओली पक्षले बताएको छ । बिहान ११ बजे आयोजक कमिटिको बैठक बस्दैछ ।
भोलि विहिवार केन्द्रीय कमिटिको बैठक बोलाईएको छ । तर माधव नेपाल पक्ष बैठकमा जाने, नजाने टुंगो लागिसकेको छैन् । सरसर्ती नेपाल पक्षको मागकै आधारमा ओली पूरानै संरचना ब्यूँताउन तयार रहेको सन्देश नेपालले पहिले नै पाइसकेका थिए । तर पनि उनले बैठकमा सहभागिता जनाउने विषयमा ओली पक्षकै नेताहरु विश्वस्त देखिएका छैन् । नेपालप्रति प्रधानमन्त्री ओलीले गर्ने गरेको तुक्ष टिप्पणीले नेपाल ओली सहितको बैठकमा अब जालान् त ? प्रश्न छ । 

सोमबार मात्रै ओलीले नेता नेपाललाई प्रचण्डको कार्यकर्ता बनेको, आफुले उनलाई प्रधानमन्त्री प्रस्ताव गर्न बहुला कुकुरले टोकेको छ र ? जस्ता टिप्पणी गरेका थिए । तर ओली पक्षमै माधव नेपाललाई बैठकमा सहभागी गराउने वातावरण निर्माणका लागि दुई थरी मत देखा परेको छ । नेपालकै आग्रहमा पार्टीलाई २ जेठ २०७५ मै फर्काई सकिएको अवस्थामा अब नेपाल विपक्षी गठबन्धन तोडेर एमालेमै फर्किनुपर्ने पक्षमा केही नेता देखिएका छन् । तर बैठक अगाडी ओली नेपाल बसेर उच्चस्तरको एक प्रकारको छलफल गरेर सहमति खोजेर जानुपर्ने पक्षमा अर्काे पक्ष देखिएको छ ।

यही असमम्जस्यता देखा परिरहेका बेला नेता नेपाल फकाउन ओली निकट नेता पृथ्वीसुब्बा गुरुङ नेता नेपाललाई भेट्न उनकै निवास पुगेका छन् ।  गुरुङले नेपालसँग मंगलबार दिउँसो कोटेश्वर पुगेर ४ घण्टा लामो सम्वाद गरेका थिए । गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै पार्टीका नेता लाग्ने बाताबरण बनिरहन्छ भने त्यसलाई तोड्न नेता नेपाललाई प्रधानमन्त्री दिएर हुन्छ की, पार्टीभित्रै महाधिवेशन सम्म अर्काे अध्यक्ष रहने ब्यवस्था गरेर हुन्छ की जे गरेर भएपनि रोक्नुपर्ने पक्षमा उभिएका छन् । 

उनले त्यही अभिव्यक्ती केही समय यता ब्यक्त गर्दै आएका थिए । एमाले स्थायी कमिटि बैठकमा पनि गुरुङले सोही अभिव्यक्ती दिएका थिए । तर, उनको त्यस्तो अभिव्यक्तीलाई प्रधानमन्त्रीले खासै चासो दिएका थिएनन् । मंगलबार उनले नेता नेपाललाई भेटेर पनि त्यस्तै प्रस्ताव गरेका थिए । ‘पार्टी एकता सवैभन्दा ठूलो कुरा हो, जोगाऔं, विपक्षी पार्टीका नेताहरुलाई बल पुग्ने गरी र पार्टीलाई कमजोर बनाउने गरी अब अगाडी नबढौं, पहिले पार्टीमा आउनुस्, सँगै बसेर समिक्षा गरौं, आवश्यक पर्दा सम्मानजनक अवस्थाका लागि अर्काे अध्यक्ष बनाउने भए पनि बनाऔं, देउवालाई प्रधानमन्त्री बनाउनु भन्दा ओलीसँग तपाई हामी सबै सल्लाह गरौं, परे तपाई आफैं प्रधानमन्त्री बन्नुस भन्ने उहाँ (पिएस) को नेपाललाई प्रस्ताव थियो ।’ गुरुङ निकट स्रोतले सफलखबरसँग भने । 

तर नेपालले आफुले पदको बार्गेनिङका लागि विपक्षी गठबन्धनसँग हातेमालो नगरेको प्रष्टोक्ति दिएका थिए । प्रधानमन्त्री केपी ओलीको अहंकार र स्वेच्छाचारिताले देशको प्राप्त उपलब्धी गुम्ने खतरा देखा परेको र त्यसले मुलुकलाई नै दुर्घटनामा लैजाने प्रयास भएपछि लोकतन्त्र रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आफु गठबन्धनमा रहेको पिएस गुरुङलाई नेता नेपालको जवाफ थियो ।

उनले ओलीलाई विगतका कमजोरीमा आत्मआलोचना गर्न लगाउन समेत भनेका थिए । अब जेठ २ मा पार्टीलाई फर्काएर मात्र पनि समस्या समाधान नदेखिएको भन्दै नेपालले सर्वाेच्च अदालतको फैसला कुर्न दिनुस् भन्ने प्रस्ताव गरेका थिए । ओली निकटका गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री गुम्ने एकजना नेता हुन् । त्यसयता उनी नेपाल सहितका नेताहरुलाई एमालेभित्रै रहन दिने गरी वातावरण बनाउनु पर्ने पक्षमा उभिएका छन् । उनले ओलीलाई पनि त्यही सुझाव दिईरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस