एमाले विवाद : पुराना कमिटी जेठ ३ अघिकै संरचनामा ब्युँताउने तयारी

पत्रपत्रिकाबाट

सोमबार, १४ असार २०७८, ०८ : ०३
एमाले विवाद : पुराना कमिटी जेठ ३ अघिकै संरचनामा ब्युँताउने तयारी

काठमाडौँ । सर्वोच्च अदालत र पार्टीभित्रको असन्तुष्ट समूहले समेत महाधिवेशन आयोजक कमिटीको औचित्यमा प्रश्न खडा गरेपछि एमालेले महाधिवेशनबाट निर्वाचित कमिटीलाई नै क्रियाशील गराउने तयारी गरेको छ । स्थायी कमिटी बैठकले यस विषयमा छलफल र निर्णयका लागि बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

उक्त बैठकले एकताका लागि जेठ ३ अघिकै संरचनामा फर्किने यसअघि अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे प्रस्तावलाई अनुमोदन गर्ने, त्यसपछि कमिटीलाई क्रियाशील बनाउने एमाले स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले ‘पछिल्लो राजनीतिक परिस्थिति र राष्ट्रिय राजनीतिका विभिन्न आयामबारे अझ फराकिलो र उच्च तहबाट छलफल गरेर निर्णय गर्नुपर्ने भएकाले’ आयोजक कमिटीको बैठक बोलाइएको जानकारी दिए । 

एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले गरेको कारबाहीमाथि प्रश्न उठाउँदै जेठ अन्तिम साता कर्णालीका चार सांसदको पद सर्वोच्च अदालतले ब्युँत्याइदिएपछि एमालेको यो कमिटीको वैधानिक हैसियतमाथि प्रश्न उठेको थियो । माधव नेपाललगायत असन्तुष्ट समूहले नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको मात्र वैधानिकता रहेकाले यसलाई क्रियाशील बनाए पार्टी एकताको सम्भावना रहेको बताउँदै आएको छ ।

तर महाधिवेशन आयोजक कमिटीमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापालगायत नेताहरूको समूह पनि छ । उनीहरूलाई ओलीले पार्टी कमिटीभन्दा बाहिर राख्न चाहेका छैनन् । यो बीचमा ओली र नेपाल समूहका नेतहरूबीच छलफल भइरहेको छ । त्यसक्रममा पनि पुरानो निर्वाचित कमिटीलाई सुचारु गरे एकतामा योगदान पुग्ने नेपाल समूहका नेताहरूले बताउँदै आएका छन् ।

तर, माग सम्बोधन गरे पनि नेपाललगायत नेताहरू पार्टीलाई मिलाउने दिशामा नरहेको बुझाइ संस्थापन पक्षको छ । नेपालले विपक्षी गठबन्धनलाई आफूले धोका दिन नसक्ने अभिव्यक्ति पटक–पटक दिइरहेका छन् । उनले आफूलाई छक्याउन ओलीले प्रधानमन्त्रीको अफरसमेत गरिसकेको दाबी शनिबार मात्रै पत्रकारहरूसँग गरेका थिए ।कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस