विभेदमुक्त समाजका लागि राज्यको अभिभावकीय भूमिका आवश्यक : कांग्रेस

रासस

शुक्रबार, ११ असार २०७८, २० : ५६
विभेदमुक्त समाजका लागि राज्यको अभिभावकीय भूमिका आवश्यक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजेको जनाएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत हालैको एक घटनामा एक मन्त्रीको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनता रहेको भन्दै यसले गम्भीर प्रश्न उठाएको आरोप लगाए ।

घटनाको अनुसन्धान, कारवाही र समाधानको एउटा निश्चित विधि हुने उल्लेख गर्दै उहाँले राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै पनि कोणबाट तार्किक र न्यायोचित नहुने टिप्पणी गर्नुभएको छ ।

निश्चित घटना उजागर भएपछि त्यसको पक्ष–विपक्षमा नागरिक तहबाट धारणा व्यक्त हुंदै गर्दा बहशलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न, न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउन, समाजमा आरोप–प्रत्यारोप एवं द्वन्द्व बढ्न नदिन जिम्मेवार राज्यले बिशेष सतर्कता र गम्भीरता राख्नुपर्नेे काँग्रेसले जनाएको छ ।

“प्रश्न रुपा सुनार र सरस्वती प्रधा बीचको संवाद र विवादको मात्रै होइन । प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो । हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।” विज्ञप्तिमा भनिएको छ ।