भारतमा कोरोनाको तेस्रो लहर थप जटिल हुने चेतावनी, सुस्त खोप अभियान

एजेन्सी

विहीबार, १० असार २०७८, १५ : ३५
भारतमा कोरोनाको तेस्रो लहर थप जटिल हुने चेतावनी, सुस्त खोप अभियान

 नयाँदिल्ली । भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।

पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् । उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।

बुधबार बिहान मात्र भारतमा ५० हजार ८४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । गएको २४ घन्टामा त्यहाँ बुधबार मात्र ती सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो । यो समेत गरी भारतमा अहिलेसम्ममा कम्तीमा पनि ३ करोड सङ्क्रमित्र पुगेका हुन् । यहाँ ३ करोड २८ हजार ७०९ जना सङ्क्रमित पुगेका हुन् ।

त्यस्तै यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ । भारतमा कोरोना भाइरसका सङ्क्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ । यहाँ केही समय अघिसम्म हरेक दिन २ हजार भन्दा पनि बढी सङ्क्रमितहरुको ज्यान जाने गरेको थियो । तर अहिले सो अवस्थामा पनि कमी आएको छ । यहाँ अहिले मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा घट्दै गएको देखिएको छ ।

पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ । भारतमा पछिल्ला हप्ताहरुमा सङ्क्रमितहरुको निको हुने दरमा बृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ ।यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरुलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै सङ्क्रमितहरु नै निको भएको अवस्था भने नभएको विज्ञहरुले चेतावानी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस