अर्थ मन्त्रालयको सेवासुविधा कटौतीविरुद्ध धितोपत्र बोर्डका कर्मचारी आन्दोलित

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०८२, १२ : १८
अर्थ मन्त्रालयको सेवासुविधा कटौतीविरुद्ध धितोपत्र बोर्डका कर्मचारी आन्दोलित

काठमाण्डौँ । अर्थ मन्त्रालयले गरेको सेवासुविधा कटौती र रकम असुल गर्ने निर्णयविरुद्ध नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन्।

बोर्डका क्रियाशील कर्मचारी युनियन तथा संगठनहरूले बिहीबारदेखि मन्त्रालयको निर्णयविरुद्ध आन्दोलित भई धर्ना र तालाबन्दी गरेका हुन्। कर्मचारीहरूको आन्दोलनका कारण बोर्डको दैनिक कामकाज ठप्प भएको छ। 

विभिन्न प्लेकार्ड बोकेर विरोध जनाएका उनीहरूले माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने अडान सार्वजनिक गर्दै बोर्ड अध्यक्षलाई सवारीसाधन प्रयोग गर्न पनि रोक लगाएका छन्। बुधबार उनीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र कार्यकारी निर्देशकको गाडी नियन्त्रणमा समेत लिएका थिए।

बोर्डमा कार्यरत तथा पेन्सनभोगी कर्मचारीहरूले अघिसम्म कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषबाट सेवासुविधा पाउँदै आएका थिए। तर, मन्त्रिस्तरीय निर्णयले ती सुविधा खारेज गरिएपछि कर्मचारीहरू आन्दोलित बनेका हुन्।

कर्मचारी युनियन र संगठनहरूले बोर्डको स्वायत्ततामाथि हस्तक्षेप तत्काल रोक्न, सेवासुविधा कटौती गर्ने निर्णय खारेज गर्न र निर्णयका कारण कर्मचारीमा उत्पन्न भय तथा अनिश्चय हटाउन नीतिगत सुनिश्चितता दिन सरकारसँग माग गरेका छन्।

 
 

प्रतिक्रिया दिनुहोस