बाइडन र पुटिनबीच शिखरवार्ता सम्पन्न

रासस

विहीबार, ०३ असार २०७८, १२ : ०८
बाइडन र पुटिनबीच शिखरवार्ता सम्पन्न

अमेरिका । अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार स्विटजरल्यान्डको जेनेभामा पहिलो शिखरवार्ता सम्पन्न गरेका छन् । दुवै नेताले बैठक सकारात्मक रहेको बताए । 

उक्त बैठक १८औं शताब्दीको भिल्लामा तीन घन्टासम्म भएको थियो । बैठकमा साइबर आक्रमण, मस्कोले लोकतन्त्र समर्थकमाथि गरेको दमन र अमेरिकी निर्वाचनमा रुसले गरेको हस्तक्षेप लगायतका विषयमा चर्चा गरिएको थियो । 

ह्वाइट हाउसले जेनेभाको शिखर वार्ताअघि यस बैठकबाट कुनै उल्लेख्य परिणाम नआउने बताएको थियो । बैठकको सबभन्दा ठोस परिणाम भनेको अमेरिका र रुसका राजदूतहरू आआफ्नो स्थानमा फर्किने सहमति बन्नु हो । तर कहिले उनीहरू राजदूतावास फर्किने हुन् भन्ने निश्चित छैन । 

तीन महिनाअघि बाइडनले पुटिनलाई हत्यारा भनेपछि रुसले अमेरिकामा रहेका आफ्ना राजदूत आनातोली एन्टोनोभलाई फिर्ता बोलाएको थियो ।

त्यसपछि रुसका लागि अमेरिकी राजदूत जोन सलिभान अप्रिल महिनामा मस्कोबाट फर्केका थिए । 

बैठकपछिको पत्रकार सम्मेलनमा पुटिनले दुई देशबीच साइबर सुरक्षाका विषयमा परामर्श आरम्भ गर्ने र आणविक हतियारको विस्तारमा लगाम लगाउने सहमति बनेको बताए । 

पछि दुवै देशले संयुक्त वक्तव्य प्रकाशन गरेर भविष्यमा हातहतियार नियन्त्रण तथा जोखिम न्यूनीकरण उपायको आधारशिला बनाउनका लागि बलियो संवाद गर्ने घोषणा गरे । रुसको परराष्ट्र मन्त्रालयले अमेरिकी समकक्षीका साथ मिलेर कैदी साटासाटाको सम्झौताका लागि काम गर्ने पनि पुटिनले जानकारी दिए । 

बाइडनले दुई देशबीच सहकार्यका लागि पारस्परिक चासोका विभिन्न क्षेत्रहरू रहेको बताए । ‘आगामी ६ महिनादेखि एक वर्षसम्ममा हामीले ठोस रणनीतिक वार्ता गर्छौं कि गर्दैनौं भन्ने थाहा पाउनेछौं,’ उनले भने । ‘तर म जेका लागि आएको थिएँ, त्यो गरें,’ उनले थपे ।  

बाइडनले पुटिनलाई एभिएटर सनग्लास उपहार दिएका थिए । यस शिखरवार्ताले बाइडन र पुटिनलाई एकअर्काको मजबूती र कमजोरी थाहा पाउने अवसर दियो । 

पुटिनले यो बैठक अत्यन्तै सकारात्मक र खुला तथा सीधासीधा रहेको बताए । बाइडनले आफ्नी आमाबाट पाएको सल्लाहका बारेमा दुईपटक बताएको र परिवारको पनि कुरा गरेको अनि त्यसबाट नैतिक मूल्यमान्यतामा उनको विश्वास देखिएको पुटिनले बताए । बाइडनसँग मिलेर काम गर्न सकिने आफूलाई लागेको उनको भनाइ छ । 

बाइडनले पनि यस वार्ताको टोन राम्रो र सकारात्मक रहेको बताए । उनले पुटिनलाई रुस वा अन्य कसैका विरुद्ध आफ्नो एजेन्डा केन्द्रित नरहेको, अमेरिकी जनताप्रति केन्द्रित रहेको बताए । आफूहरू शीतयुद्धमा नरहेको बाइडनले बताए ।

पुटिनले प्रायः अन्य नेताहरूसँग भेटघाट गर्दा उनीहरूलाई कुराउने गर्थे । तर बाइडनसँगको भेटमा उनी समयमै वार्तास्थलमा पुगे । उनी स्थानीय समयअनुसार १ बजेर ३ मिनेटमा पुगेका थिए । उनी पुगेको केही मिनेटपछि बाइडन पनि पुगेका थिए । उनीहरूबीच १ बजेर १८ मिनेट जाँदा भेट गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । 

बाइडन र पुटिनको वार्तापछि एक सञ्चारकर्मीले पुटिनलाई विश्वास गर्न सकिन्छ त भनी बाइडनलाई सोध्दा बाइडनले टाउको हल्लाए । पत्रकारहरूले त्यसलाई ‘हो’ भनेको भन्ने अर्थ लगाए । तर ह्वाइट हाउसले बाइडनको हाउभाउलाई गलत अर्थ लगाइएको बतायो । 

‘सञ्चारकर्मीहरूले होहल्ला गर्दै एकपछि अर्को प्रश्न चिच्याएर सोध्दै गर्दा राष्ट्रपतिले मिडियातिर फर्केर यसो टाउको हल्लाउनुभएको मात्र हो,’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पिसाकीले बयान जारी गरेर बताइन् । ‘टाउको हल्लाएर उहाँले कुनै प्रश्नको जवाफ दिएको हैन ।’

प्रतिक्रिया दिनुहोस