मेलम्चीमा अकल्पनीय त्रासदी : सयभन्दा बढी परिवार विस्थापित

पत्रपत्रिकाबाट

विहीबार, ०३ असार २०७८, ०८ : ००
मेलम्चीमा अकल्पनीय त्रासदी : सयभन्दा बढी परिवार विस्थापित

सिन्धुपाल्चोक । पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ । मेलम्ची नदीमा मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौं मानिस बेघर भएका छन् । बाढीले बगाउँदा हालसम्म एक जनाको मृत्यु भएको छ । सात जना बेपत्ता छन् ।

बाढीले बुधबार डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार र उद्धारमा खटिएको नेपाली सेनाको हेलिकप्टर । तस्बिर स् अंगद ढकालरकान्तिपुर
बाढीका कारण हेलम्बुदेखि मेलम्चीभर झन्डै डेढ सय घर डुबानमा परेका छन् । मेलम्ची तटीय क्षेत्रका ८ वटा रिसोर्ट, दुई मोटरेबल पुल र आधा दर्जन झोलुंगे पुल बाढीले बगाएको प्रहरीले जनाएको छ ।

मेलम्ची बजार उजाड बगरमा परिणत भएको छ । घरहरू पानीमा डुबेका छन् । यसअघि कहिल्यै नआइलागेको विपद् सामना गर्नुपर्दा स्थानीय बासिन्दा त्राहिमाम छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार इन्द्रावती किनारमा फेला परेको एक शवको पहिचान हुन सकेको छैन । हेलम्बु–२ का ३१ वर्षका माधव भण्डारी, ४२ वर्षका गणेश ज्योति, ३ का ६५ वर्षीया टीकामाया खड्का, ७ का ४५ वर्षका ज्ञानेन्द्र कक्षपति, ६ का ३५ वर्षका चेङा तामाङ र चौतारा साँगाचोकगढी नगरका २३ वर्षका समुद्र नेपाल बेपत्ता छन् । स्थानीयका अनुसार बेपत्ता हुनेमा अधिकांश हेलम्बुदेखि मेलम्ची नदीको तटीय भेगको ट्राउट फार्ममा काम गर्थे ।

‘मेलम्चीमा मात्रै सयभन्दा बढी परिवार विस्थापित भएको अनुमान छ, सबैलाई मेलम्ची नगरको इन्द्रेश्वरी माध्यमिक विद्यालयको भवनमा राखेर गाँसबासको व्यवस्था गरिएको छ,’ डीएसपी सापकोटाले भने । सेनाको हेलिकप्टरले बाढीले डुबेको घरमा अलपत्र परेका चार जनालाई उद्धार गरेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस