दिल्ली उड्नुअघि खनाललाई प्रधानमन्त्री ओलीको टेलिफोन, केके भयो कुराकानी ?

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १४ : ५२
दिल्ली उड्नुअघि खनाललाई प्रधानमन्त्री ओलीको टेलिफोन, केके भयो कुराकानी ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपचारको लागि दिल्ली उड्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेका छन् । प्रधानमन्त्री ओलीले खनालको शीर्घ स्वास्थ्यलाभको कामना गरेका थिए ।

स्रोतका अनुसार पार्टीको एकीकरणको विषयमा पनि केही कुरा भएको थियो । पार्टीलाई एकताबद्ध बनाउन खनालले ओलीसमक्ष आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले पार्टीलाई एकताबद्ध बनाउन आफूले पूरा लचकता अपनाउने खनाललाई जवाफ दिएका थिए । खनाललाई मृगौलामा पुरानै समस्या देखिएपछि नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली लगिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि खनाल गत सोमबार थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। दिल्ली जानुअघि उनलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पनि भेटका थिए ।

अस्पतालले उनलाई ‘पोष्ट कोभिड’ समस्या भएको आशंकामा उपचार सुरु गरेको थियो। तर उनमा पोष्ट कोभिड भन्दा भिन्न समस्याहरु देखिएपछि थप उपचारका लागि दिल्ली लगिएको परिवार स्रोतले जनाएको छ । अस्पतालका अनुसार खनालको फोक्सोमा पानी जमेको छ । खनालको रगत र पिसावमा समेत इन्फेक्सन देखिएको छ।

२०७१ सालमा खनालको जोन हिकिन्ङस अस्पताल अमेरिकामा मुत्रनलीमा पलाएको मासुको शल्यक्रिया गरिएको थियो।खनाललाई वैशाख १८ गते कोरोना पोजेटिभ देखिएको थियो। उनी वैशाख २७ गते कोरोना मुक्त भएका थिए।