मनाङमा बाढी : बाढीले विद्युतगृह, बेलिब्रिज र काठेपुल बगायो, आधा गाँउ डुबान

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, ११ : २७
मनाङमा बाढी : बाढीले विद्युतगृह, बेलिब्रिज र काठेपुल बगायो, आधा गाँउ डुबान

लमजुङ । मनाङमा अविरल वर्षासंगै आएको बाढीले धनमालको क्षति हुन थालेको छ । मनाङको तिमाङखोलामा आएको बाढीले विद्युत्गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएको छ । नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ ।

तालगाउँका स्थानीय बासिन्दाका अनुसार मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ आएको उनले बताए । 

जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्का अनुसार घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा यसअघि बगाउन लागेको एउटा घर र थप काठका ३ वटा घर बगाएको उनले बताए । ‘ढुंगामुढाले पुल थुनिँदा बस्तीतिर बाढी पसेको छ । बाढी पस्दा घर बगाउन थालेको छ । बजार क्षेत्र नै जोखिममा परेको छ,’ उनले भने । उनका अनुसार तिमाङखोलाको बेलिब्रिज र ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत आयोजनाको संरचना पनि बाढीले बगाएको छ ।

प्रतिक्रिया दिनुहोस