मोरङमा जारी निषेधाज्ञा पुनः एक साता थप

सफल खबर संवाददाता

सोमबार, ३१ जेठ २०७८, १५ : २०
मोरङमा जारी निषेधाज्ञा पुनः एक साता थप

मोरङ । मोरङमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै थप एक साता लम्ब्याइएको छ । सोमबार बसेको डीसीसीएमसी बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो ।

कोरोना संक्रमणदर घट्दै गएकाले प्रदेश राजधानी विराटनगरसहित मोरङका सबै पालिकामा क्रमशः निषेधाज्ञा खुकुलो बनाउँदै लगिने भएको हो । मोरङमा ३१ जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । सोमबार बसेको डीसीसीएमसी बैठकले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै ७ असारसम्म लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

उनले जनजीवन सहज बनाउन निषेधाज्ञालाई केही लचिलो बनाउनुपर्ने देखिएको बताए । उनले यतिबेला पनि विभिन्न क्षेत्र विस्तारै खोल्दै लगिएको र अन्य क्षेत्र पनि विस्तारै खुकुलो पार्दै लगिने जानकारी दिए ।

प्रजिअ निरौलाले सोमबारको बैठकले यसअघि खाद्यान्न, खाना पकाउने ग्यास, तरकारी तथा फलफूल, खानेपानी, माछामासु, इन्धन, पुस्तक पसल, निर्माण सामग्री, विद्युतीय सामग्रीलगायत अत्यावश्यक सामग्रीका पसल बिहान १० बजेसम्म मात्र खोल्न दिइएकोमा अब ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस