कोरोना विरुद्धको खोप नपाएपछि पेट्रोलियम व्यवसायीले उठाएनन् इन्धन

पत्रपत्रिकाबाट

सोमबार, ३१ जेठ २०७८, ०७ : ५२
कोरोना विरुद्धको खोप नपाएपछि पेट्रोलियम व्यवसायीले उठाएनन् इन्धन

काठमाडौँ । चालक, सहचालक र पम्पमा कार्यरत कर्मचारीका लागि कोभिडविरुद्धको खोप माग्दै पेट्रोलियम व्यवसायीले इन्धनको लोड अनलोड बन्द गरेका छन् । सेवा दिने क्रममा चालक तथा सहचालक र पम्पमा कार्यरत कर्मचारीको कोरोना संक्रमणका कारण निधन भइरहेको र यस क्षेत्रमा आबद्ध मजदुरका परिवारमा समेत संक्रमण फैलिरहेकाले खोपको व्यवस्था नभएसम्म सेवा दिन नसकिने नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही कारण व्यवसायीले आइतबार थानकोट डिपोबाट इन्धन लोड अनलोड नगरेको निगमले जनाएको छ । डिपो खुला भए पनि आइतबार व्यवसायीहरूले इन्धन नउठाएको थानकोट डिपो प्रमुख अभिषेक ठाकुरले बताए । ‘आइतबार सेना, प्रहरी र साझाबाहेक अन्यमा ढुवानी भएन,’ उनले भने । लकडाउन भएपछि औसतमा पेट्रोल दिनमा साढे ४ सय किलोलिटर र डिजेल साढे ५ सय किलोलिटर बिक्री भएको थियो । पछिल्लो २र३ दिनयता बिक्री क्रमिक रूपमा बढिरहेको थियो ।

तर आइतबार साढे ५ बजेसम्म पेट्रोल ७० किलोलिटर र डिजेल ४६ किलोलिटर मात्रै बिक्री भएको निगमको भनाइ छ । ‘इन्धन ढुवानी नगर्नुको मुख्य कारण खोप नै हो । चालक र सहचालकले पहिला पनि प्रयास गरेका थिए, सुनुवाइ भएन,’ ठाकुरले भने, ‘डिपो सोमबार पनि खुला हुन्छ । तर व्यवसायीले खोप नपाएसम्म ढुवानी नगर्ने भनेका छन् ।’

नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जारी गरेको विज्ञप्तिमा बारम्बार ध्यानाकर्षण गराउँदा कुनै कदम नचालिएको उल्लेख छ । संघले गरेको निर्णयमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पनि समर्थन गरेको छ । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा पनि विरोधप्रति नैतिक समर्थन रहेको उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस