देशभर निषेधाज्ञा खुकुलो बनाउन नयाँ मोडालिटी

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, ०९ : ५७
देशभर निषेधाज्ञा खुकुलो बनाउन नयाँ मोडालिटी

काठमाडौँ । कोरोना भाइरसको संक्रमण कम हुँदै गइरहेको बेला जारी निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय नयाँ ढाँचा निर्माणमा जुटेको छ । सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो ।

शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा गोष्ठी, सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भइरहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए । 

निषेधाज्ञालाई अनिश्चितकालसम्म लम्ब्याउँदै जाँदा त्यसबाट उत्पन्न हुने नकारात्मक परिस्थितिप्रति हामी सचेत र जानकार छौंं, त्यसलाई मध्यनजर गरेर विस्तारै जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आर्थिक गतिविधि पनि खुलाउँदै लैजाने विषयमा छलफल चलिरहेको छ ।

खोप र परीक्षणको दायरा बढाएर विस्तारै निषेधाज्ञालाई खुकुलो बनाउनुपर्छ भन्ने सुझाव देशभरका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयलाई सुझाव दिएका छन् । 


 

प्रतिक्रिया दिनुहोस