बङ्गलादेशमा लगाइएको देशव्यापी लकडाउनको समयावधि फेरि थप

एजेन्सी

सोमबार, २४ जेठ २०७८, २१ : ०३
बङ्गलादेशमा लगाइएको देशव्यापी लकडाउनको समयावधि फेरि थप

काठमाडौं । कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएकाले बङ्लादेशमा लगाइएको लकडाउनको समयावधि फेरि थप गरिएको छ ।   देशव्यापी लकडाउन फेरि १० दिन थप गरिएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

लकडाउनलाई अझै कडा बनाउदै लगिने पनि उनीहरुले बताएका छन् । महामारी अपेक्षित रुपमा नियन्त्रण हुन नसकेकाले लकडाउन अझ कडा बनाउनु परेको उनीहरुको भनाइ छ । 

यसअघि लागु गरिएको लकडाउन आज सोमबार सकिने भएकाले भोलि मंगलबारदेखि लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो । 
बङ्लादेशमा कोरोनाभाइरसको महामारी फैलिएपछि लामो समयदेखि लकाडाउन जारी रहेको छ । यसअघि पनि लकडाउनको समयावधि पटक पटक थप गरिएको थियो । 

अहिले थप गरिएको लकडाउन आगामी जुन १६ को मध्यरातसम्म कायम रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

लकडाउनको म्याद थप गर्ने बारेमा सरकारी अधिकारीहरुले सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गरेका थिए । उनीहरूको सुझाव र सिफारिसका आधारमा मन्त्रीपरिषद्ले लकडाउनको समयावधि थप गरिएको अधिकारीहरुको भनाइ छ । 

बंलादेशमा अहिले जारी रहेको लकडाउन गत अप्रिल ५ देखि सुरु भएको हो । सुरुमा एक हप्ताका लागि मात्रै लकडाउन घोषणा गरिएको थियो । 

बंलादेशको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९७० जना नयाँ सङ्क्रमित थपिएका छन । सोही अवधिमा थप ३० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । 

बंलादेशमा अहिलेसम्म कुल आठ लाख १२ हजार ९६० जना सङ्क्रमित भएका छन् भने कुल १२ हजार ८६९ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस