सर्लाही । कोरोना महामारी र निषेधाज्ञाको मौका छोपी लगातार खोला र चुरे क्षेत्र दोहन भइरहेको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको छ । अहिले हरेकजसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । ती सबै अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गर्न आएका हुन् ।
जिल्लाको बाँके, फुलजोर, कालीन्जोर र लखन्देही नदीमा स्थानीय निकायले ठेक्का लगाएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन आइइई प्रतिवेदनअनुसार ती नदीहरुमा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको भए पनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । रातदिन धमाधम एस्काभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेका छन् । ती नदीहरुमा करीब दुई सय वटा टिप्परको लाइन दिनहुँ नै देखिने गरेको छ ।
स्थानीय निकायहरुले नदी ठेक्का दिँदा मेसिनको प्रयोग नगर्ने र मानिसले मात्रै नदीजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो तर अहिले विपद्को बहाना बनाएर मेसिन प्रयोग गर्न थालिएको छ । पूर्व पश्चिम लोकमार्गअन्तर्गत सर्लाही र महोत्तरीको सिमानामा रहेको पुलको दक्षिणतर्फ एस्काभेटरले तटबन्धसमेत भत्काएर नदी उत्खनन गरेको छ ।
जसका कारण पूर्व पश्चिम लोकमार्ग र पुलसमेत धरापमा पर्नाको साथै श्रीनगर क्षेत्रका बस्तीमा नदी पस्ने जोखिम बढेको स्थानीयवासी हरि चौधरीले बताए । “हामीले उत्खनन भइरहेको ठाउँमा पुगेर रोक्ने प्रयास ग¥यौँ तर हाम्रो सुनुवाइ भएन”, उनले भने , “नदी किनारमा बनाइएको तटबन्धसमेत भत्काइएको छ । जथाभावी मेसिन लगाइरहेका छन् ।” जिल्लाका सबै नदीमा यसैगरी उत्खनन भइरहेको चौधरीले बताए ।
अवैध उत्खननले सिँचाइ कुलोहरूसमेत भासिन थालेको स्थानीय किसानको गुनासो छ । नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नाका साथै खेतीयोग्य जमीनसमेत जोखिममा परेको अर्का स्थानीयवासी कपिल चौधरीले बताए । जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने र यसका कारण वर्षायाममा नदी गाउँमा पस्ने जोखिम बढेको उनको भनाइ छ ।
बर्सातको समय आइसकेका कारण मेसिन प्रयोग गरेर राति पनि नदीजन्य पदार्थ उत्खननको काम गर्न थालिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले बताए । “हामीले पहिले नै ठेक्का लगाइसकेका छौँ, पछि विपद् नहोस् भनेरै परिमाण पुगेपछि नदी उत्खननको काम रोक्न ठेकेदार कम्पनीलाई पत्राचार गरिसकेको भए पनि ठेकेदार कम्पनीले अटेर गरी नदी दोहन गरिरहेका छन्”, उनले भने। उनका अनुसार अहिले महामारीको बहाना बनाउँदै ठेकेदारले लापरबाहीपूर्ण तरिकाबाट नदी दोहन गरेको र पटकपटक रोक्न आग्रह गर्दासमेत अटेर गरेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २३ जेठ २०७८, १३ : ५०
लेखकबाट थप