नदीको बहाव बढेपछि पुल निर्माण कार्य रोकियो

रासस

विहीबार, २० जेठ २०७८, १३ : ५०
नदीको बहाव बढेपछि पुल निर्माण कार्य रोकियो

तनहुँ । गत केही दिन निरन्तर वर्षा भएर कालीगण्डकी नदी बढेपछि निर्माण भइरहेको पक्की पुलको काम रोकिएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने गरी निर्माण भइरहेको पक्की पुल नदीमा वहाव बढेपछि रोकिएको हो ।  तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि पुल निर्माण भइरहेको थियो । तर वर्षापछि आएको बाढीले पुलको पिल्लर, पानी तान्ने मेसिन डुबाएपछि काम प्रभावित भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।

“पुल निर्माणका लागि बीच भागको पिल्लर उठाउने काम हुँदै थियो, वर्षापछि नदी बढेर पिल्लर नै डुबायो,” उनले भने, “नदीले केही मेसिन समेत डुबाएको छ ।” सिग्देलका अनुसार अब पानीको बहाव घटेपछि मात्रै काम शुरु हुनेछ । 
असार लागेपछि झन् बढी वर्षा हुने भएकाले त्यस अगावै बीच भागको पिल्लर सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको थियो । निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गरिएपनि वर्षाका कारण काम रोकिएको सिग्देलले बताए । सिग्देलका अनुसार तनहुँ तर्फको फाउण्डेशनको काम सकिएको छ भने पाल्पा तर्फको काम हुन बाँकी छ ।  

दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ । हालसम्मको पुलको ३० प्रतिशत काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद १५ महिना बाँकी छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । 

पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत निर्माण हुन लागेको छ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । 

प्रतिक्रिया दिनुहोस