काठमाडौँ । देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो ।
एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मङ्गलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका श्ययामा २२५ र अरू श्ययामा २१० बिरामी थिए । अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा रबि शाक्यले बताए। दैनिक झण्डै २५ नयाँ बिरामी आइरहेका छन् । उनले भने, “बच्चाको एनआइसयुबाहेक अरू आइसियु सधैँ भरिभराउ रहेका छन् ।”
अस्पतालमा पनि पिसिआर परीक्षणका लागि आउनेको सङ्ख्या केही कम भए पनि भर्ना हुनेको सङ्ख्या घट्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालको हाताभित्र छिर्नासाथ ज्वरोलगायत परीक्षण गरेर शङ्कास्पद सङ्क्रमित र अरू बिरामीलाई छुट्याइने गरिएको छ । ‘फिबर क्लिनिक’मा आउनेका सङ्ख्या केही कम भइरहेको अस्पतालका निर्देशक डा शाक्यले बताए । उनले भने, ‘एक सातायता पिसिआर परीक्षणका लागि अस्पताल आउनेको सङ्ख्या पनि घटिरहेको छ ।’
अस्पतालले गत वर्षदेखि कोभिड र अरू बिरामीलाई छुट्याएर उपचार गर्दै आएको छ । आवश्यकताअनुसार कोभिडका लागि श्यया बढाउँदै लगिएको निर्देशक डा शाक्यले बताए । अहिले नयाँ भेरियन्टसहित सङ्क्रमण देखिन थालेसँगै अरू श्ययालाई खुम्च्याउँदै र कोभिडका लागि बढाउँदै लगिएको छ । अस्पतालमा अहिले कोभिडका लागि तीन सय श्यया र अरूका लागि ३५० श्यया छ । उनले भने, “सबै श्ययामा नै बिरामी झण्डै भरिएका छन् ।”
अस्पतालले सरकारले निषेधाज्ञा जारी गरे पनि बहिरङ्ग सेवा अवरुद्ध गरेको छैन । कोभिडका शङ्कास्पद व्यक्तिलाई शुरुमा नै छुटाएर अरू बिरामीको सबै किसिमको उपचार भइरहेको हो । यातायातको असुविधा र अहिलेको समयमा बिरामी आफैँ आउन नचाहेका कारण पनि सामान्य अवस्थाभन्दा धेरै कम मात्रै बिरामी बहिरङ्ग सेवाका लागि आइरहेका छन् । उनले भने, “अस्पताल आएका कुनै पनि बिरामी उपचार नभएर फर्कनुपर्ने अवस्था छैन ।”
अस्पतालले कोभिडका लागि ३० आइसियु र १८ भेन्टिलेटर छुट्याएको छ । कोभिडबाहेक सजिर्कल, मेडिकल आइसियु र बालबालिका लागि एआइसियु गरी २० आइसियु रहेका छन् । सङ्क्रमण बढिरहँदा आवश्यकताअनुसार नै श्यया बढाउँदै लगिएको निर्देशक शाक्यले बताउनुभयो । उनले भने, “सङ्क्रमण शुरु हुँदा २१ थियो, आवश्यकतानुसार बढाइएको छ ।”
अस्पतालमा हिजोआज क्षमताभन्दा बढी बिरामी नभएको निर्देशक शाक्यले बताए । केही समयपहिले सबैतिर अक्सिजनको अभाव हुँदा सेवा सीमित गर्नुपर्ने बाध्यता थियो । त्यो समयमा तीन सय श्ययामध्ये १५० बिरामी मात्रै भर्ना गर्न सकिने अवस्था थियो । अहिले अक्सिजनको अस्थायी समाधान भएको उनले बताए । अस्पतालमा आइसियुमा क्षमताभन्दा बढी बिरामी भएमा अरू अस्पतालमा समन्वय गरेर पठाइने उनले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ जेठ २०७८, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द