आलोचना गर्ने ठाउँ कतै नभेटाएर राष्ट्रपतिको गरिएको हो : परराष्ट्रमन्त्री ज्ञवाली

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १५ : १०
आलोचना गर्ने ठाउँ कतै नभेटाएर राष्ट्रपतिको गरिएको हो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले खोप उपलव्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्र प्रमुखलाई गरेको पत्राचारबारे आलोचना गर्ने ठाउँ कतै नभेटाएर राष्ट्रपतिको आलोचना गरिएको बताएका छन् ।

मंगलबार एमाले स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले आलोचना गर्नुपर्ने ठाउँ अरु नभेटेर राष्ट्रपतिको आलोचना गरेको हुनसक्ने प्रतिक्रिया दिए ।

‘साथीहरुलाई आलोचना गर्ने केही ठाउँ नै छैन कि जस्तो लाग्छ मलाई’, मन्त्री ज्ञवालीले भने, ‘केहीकेही नेताहरु हेर्दा मलाई बडो विरक्त पनि लाग्छ ।’ उनले अहिले मानिसको जीवन रक्षा नै ठूलो कुरा भएको भन्दै राष्ट्रपति यो देशको रक्षक र संविधानको अभिभावक  र भएको हैसियत प्रयोग गरेको दावी गरे ।

‘राष्ट्रपति देशको रक्षक र संविधानको अभिभावक भएको हैसियतले उहाँले आवश्यक्ता अनुसार त्यो हैसियतलाई प्रयोग गर्नुहुन्छ । परराष्ट्र मन्त्रालयले निरन्तर काम गरिरहेको छ । कतिपय ठाउँमा प्रधानमन्त्रीले गरिरहनुभएको छ’, ज्ञवालीको भनाइ छ ।

उनले जुन देशमा कार्यकारी भुमिकामा राष्ट्रपति रहेका छन् त्यो देशमा राष्ट्रपतिले कुराकानी गर्नुपर्ने नै भएको बताउदै प्रधानमन्त्री र राष्ट्रपतिबीच कुराकानी हुँदैन भन्ने सामान्य प्रोटोकल बुझ्नुपर्ने बताए ।

खोप ल्याएर मानिसको जीवन रक्षा गर्नु अहिलेको पहिलो आवश्यक्ता रहेको भन्दै उनले टिप्पणी गर्ने नेताहरुलाई भने, ‘मेरो प्रार्थना छ उहाँहरु कसैलाई कोरोना नलागोस् । र, कृपया यस्ता कुरामा राजनीतिकरण नगरि दिनुहोस् ।’

नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलक भारत र चीन सहितका देशका राष्ट्रपतिसँग खोप उपलव्ध गराउन पत्राचार गरेकी थिइन्, जसको राजनीतिक वृत्तमा आलोचना समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस