काठमाडौँ । चौबीस घण्टे स्पष्टीकरणको समयसीमा सकिएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई समूहका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारीमा जुटेको छ । त्यसको प्रतीकात्मक प्रतिरोध गर्दै ठाकुर पक्ष पनि अध्यक्ष यादवलाई निष्कासन गर्ने तयारीमा छ ।
कारबाही र निष्कासनको शृंखला अघि बढाउनुभन्दा मिलेरै आ–आफ्नो बाटो लाग्न उचित हुने सुझाव भट्टराईले सामाजिक सञ्जालमार्फत अभिव्यक्त गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने वा समर्थन जनाउने निर्णयबाट पुनर्विचार नगरे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको समूहलाई पुरानै राजपा ब्युँताएर जान सक्ने सन्देश भट्टराईले दिन खोजेका छन् ।
‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनै पर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दै छ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं,’ भट्टराईले आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऔं । हात मिलाएर आआफ्नो बाटो लागौं । हिँडिरहे फेरि भेट हुनेछ ।’
यादव–भट्टराई पक्षले अडानबाट पछि हटे कारबाही फिर्ता लिने र त्यसले पार्टी एकतालाई बल पुग्ने भनाइसहितको अन्तिम सन्देश ठाकुर पक्षलाई पठाएको छ । यता ठाकुर र वरिष्ठ नेता महतो पक्ष यादवको आग्रह सुन्ने पक्षमा छैन । एकरदुई दिनभित्रै ओली नेतृत्वकै सरकारमा जाने यो पक्षको तयारी छ । सरकारमा सहभागिता र मन्त्रालय भागबन्डाका विषयमा ठाकुर र महतोले ओलीसँग सोमबारै बालुवाटारमा छलफल गरेका थिए ।
ठाकुर–महतो पक्षीय नेता लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री ओलीसँग भएको छलफलमा जसपालाई आठ मन्त्री र दुई राज्यमन्त्री दिने समझदारी बनिसकेको छ । तर हाल रिक्त रहेका मन्त्रालयमै नभई हेरफेर हुन सक्ने संकेत प्रधानमन्त्रीले गरेका छन् । कुन–कुन मन्त्रालयमा जाने टुंगो भएपछि वरिष्ठ नेता महतोको नेतृत्वमा ठाकुर पक्ष सरकारमा जाने करिब निश्चित छ ।
अदालतको फैसला आएपछि कि पहिल्यै सरकारमा जाने भन्ने प्रश्नमा नेता शरतसिंह भण्डारीले भने, ‘सरकारमा जाने कुरामा अब कहीँकतै अवरोध छैन । प्रतिनिधिसभा पुनःस्थापना हुने कि नहुने भन्नेमा अदालतको निर्णय पर्खन आवश्यक छैन । पावर सेयरिङमा कुरा मिल्नासाथ जान सकिन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर