पार्टीमा बहुमत पुर्‍याउन नसके पूर्व ‘राजपा’ ब्युँताउने महन्थ ठाकुर समुहको तयारी

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, ०८ : १६
पार्टीमा बहुमत पुर्‍याउन नसके पूर्व ‘राजपा’ ब्युँताउने महन्थ ठाकुर समुहको तयारी

काठमाडौँ । चौबीस घण्टे स्पष्टीकरणको समयसीमा सकिएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई समूहका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारीमा जुटेको छ । त्यसको प्रतीकात्मक प्रतिरोध गर्दै ठाकुर पक्ष पनि अध्यक्ष यादवलाई निष्कासन गर्ने तयारीमा छ ।

कारबाही र निष्कासनको शृंखला अघि बढाउनुभन्दा मिलेरै आ–आफ्नो बाटो लाग्न उचित हुने सुझाव भट्टराईले सामाजिक सञ्जालमार्फत अभिव्यक्त गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने वा समर्थन जनाउने निर्णयबाट पुनर्विचार नगरे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको समूहलाई पुरानै राजपा ब्युँताएर जान सक्ने सन्देश भट्टराईले दिन खोजेका छन् ।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनै पर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दै छ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं,’ भट्टराईले आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऔं । हात मिलाएर आआफ्नो बाटो लागौं । हिँडिरहे फेरि भेट हुनेछ ।’

यादव–भट्टराई पक्षले अडानबाट पछि हटे कारबाही फिर्ता लिने र त्यसले पार्टी एकतालाई बल पुग्ने भनाइसहितको अन्तिम सन्देश ठाकुर पक्षलाई पठाएको छ । यता ठाकुर र वरिष्ठ नेता महतो पक्ष यादवको आग्रह सुन्ने पक्षमा छैन । एकरदुई दिनभित्रै ओली नेतृत्वकै सरकारमा जाने यो पक्षको तयारी छ । सरकारमा सहभागिता र मन्त्रालय भागबन्डाका विषयमा ठाकुर र महतोले ओलीसँग सोमबारै बालुवाटारमा छलफल गरेका थिए ।

ठाकुर–महतो पक्षीय नेता लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री ओलीसँग भएको छलफलमा जसपालाई आठ मन्त्री र दुई राज्यमन्त्री दिने समझदारी बनिसकेको छ । तर हाल रिक्त रहेका मन्त्रालयमै नभई हेरफेर हुन सक्ने संकेत प्रधानमन्त्रीले गरेका छन् । कुन–कुन मन्त्रालयमा जाने टुंगो भएपछि वरिष्ठ नेता महतोको नेतृत्वमा ठाकुर पक्ष सरकारमा जाने करिब निश्चित छ ।

अदालतको फैसला आएपछि कि पहिल्यै सरकारमा जाने भन्ने प्रश्नमा नेता शरतसिंह भण्डारीले भने, ‘सरकारमा जाने कुरामा अब कहीँकतै अवरोध छैन । प्रतिनिधिसभा पुनःस्थापना हुने कि नहुने भन्नेमा अदालतको निर्णय पर्खन आवश्यक छैन । पावर सेयरिङमा कुरा मिल्नासाथ जान सकिन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस