कुवेत पुग्यो नेपाली फुटबल टोली

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, ११ : १८
कुवेत पुग्यो नेपाली फुटबल टोली

काठमाडौं । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट कुवेत गएको हो । नेपाल आइतबार कुवेत पुगेको हो । त्यहाँ नेपाली टोलीको पीसीआर परीक्षणको लागि स्वाव संकलनसमेत भएको छ ।

शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँगको ६-२ ले पराजित भएको थियो । नेपालका लागि अन्जन विष्ट र मनिष डाँगीले गोल गरेका थिए ।

कुवेतमा नेपालले छनोट चरणका बाँकी तीन खेल खेल्नेछ । नेपालीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

कोरोना महामारीले गर्दा नेपालले घरेलु मैदानमा खेल्नु पर्ने यी खेलहरु एएफसीले सेन्ट्रल भेन्युको रुपमा कुवेतमा खेलाउन लागेको हो ।

यसअघि ५ खेल खेलिसकेको नेपालले १ जितबाट ३ अंक जोडेको छ र समूहमा पाँच टिममध्ये चौथो स्थानमा छ ।कुवेतसँग दुवै खेल खेलिसकेको नेपाल ७-० र १-० ले पराजित भएको थियो । यस्तै अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको नेपालले चाइनिज ताइपेईलाई उसैको मैदानमा २-० ले पराजित गरेको थियो ।

नेपालले छनोटको पछिल्लो खेल २०१९ नोभेम्बरमा भुटानको थिम्पुमा कुवेतसँग खेलेको थियो र उक्त खेलमा १-० ले पराजित भएको थियो । त्यसको करिब १८ महिनापछि नेपालले छनोटको खेल खेल्न लागेको हो ।

विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना नेपालको लगभग सकिसकेको छ । अंकगणितीयरुपमा मात्र झिनो सम्भावना बाँकी छ ।तर २०२३ मा हुने एसियन कपको समेत यो छनोट रहेकोले नेपाललाई बाँकी ३ खेलको नतिजा महत्वपूर्ण हुनेछ ।

नेपाल चौथो स्थानमै रहेर छनोट सकाए एसिया कपको लागि सिधै छनोट हुने सम्भावना रहन्छ । पाँचौ भएमा भने नेपालले एसिया कपको अर्को चरणमा पुग्नका लागि पनि थप प्लेअफ राउण्ड खेल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस