उज्वल थापाको उपचारमा ५२ लाख बढी उठ्यो, दुर्गा प्रसाईंको सहयोग अस्वीकार

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १३ : ५५
उज्वल थापाको उपचारमा ५२ लाख बढी उठ्यो, दुर्गा प्रसाईंको सहयोग अस्वीकार

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले दिने भनेको सहयोग अस्वीकार गरेको छ ।

प्रसाईले शनिबार बिहान एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणपछि भेन्टिलेटरमा उपचचाररत थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका थिए ।

शनिबार थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरिएको प्रेस नोटमा उक्त सहयोग अस्वीकार गरिएको  उल्लेख छ ।

‘उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ,’ प्रेस नोटमा भनिएको छ ।

थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको परिवारले जनाएको छ ।

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा थापाको उपचारमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस