संसद विघटनको विरुद्धको रिटमा सुनुवाई सुरु

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १२ : २५
संसद विघटनको विरुद्धको रिटमा सुनुवाई सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ ।  प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ शुरु भएको हो । विघटन विरुद्ध परेका  १९ वटा रिटमा आज सुनुवाइ हुन्छ । अधिकांश रिट  कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पीआईएल) को अधिकार प्रयोग गरेर दायर गरेका छन् । 

यसअघि प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका थिए । सुनुवाइ शुरु गर्न अघि जबराले सबै रिट निवेदकलाई बाहिर पठाएका थिए । कोरोना भाइरसको कारण राणाले सबैलाई पालो पालो आएर बहस गर्न आग्रह गरेका छन् ।

रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । प्रधान न्यायाधीशको एकल इजलासले निवेदकहरूका माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे आदेश गर्नेछ । 

संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर शुक्रवार सुनुवाई हुनेगरी सर्वोच्च प्रशासनले पेशी तोकेको छ । विघटन बिरुद्ध कुल ३० वटा निवेदन दर्ता भएका छन् । संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले हस्ताक्षर सहित निवेदन दर्ता गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस