जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक हो : रामचन्द्र पौडेल

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, १७ : ०७
जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक हो : रामचन्द्र पौडेल

file-photo

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सदन नभएको बेला जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक भएको बताएका छन् ।

सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेका बेला पूर्वसभामुख समेत रहेका नेता पौडेलले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन जरुरी नभएको बताए ।

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले गरेको पूर्वसभामुखहरुसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले भने, ‘अहिले हतारमा अध्यादेशबाट बजेट ल्याइहाल्नु पर्ने केही छैन । किनभने सदनै नभएको बेलामा जेठ १५ गते भन्ने कुरा अब इरेलेभेण्ट भयो, असान्दर्भिक भयो ।’

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेश गर्नुपर्ने हुन्छ । संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने प्रावधान छ ।

तर, अहिले प्रतिनिधिभा विघटित अवस्थामा रहेको भन्दै नेता पौडेलले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था असान्दर्भिक भएको बताएका हुन् ।

सभामुख अग्नि सापकोटाले बोलाएको पूर्वसभामुखहरुसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले भने, ‘अब असार मसान्तभित्र सदन पुनर्स्थापना भएर सदनबाटै बजेट पारित गर्न सकियो भने त्यो सबैभन्दा राम्रो, उपयुक्त हुन्छ । यो विषयमा पनि हामीले छलफल गर्‍यौं,’ पौडेलले भने ।

मुलुक अहिले व्यवस्थाको रक्षा र कोरोनाबाट जनताको रक्षा गर्नुपर्ने ठूला दुई आपतमा रहेको भन्दै उनले यी दुवै आपतबाट मुलुकलाई निकास दिने जिम्मेवारी न्यायलयमा पुगेको बताए ।

‘संसद पुनर्स्थापना र कोरोनाबाट जनतालाई बचाउने दुवै संकटबाट मुलुकलाई निकास दिने जिम्मेवारी न्यायमूर्तिहरुको काँधमा पुगेको छ,’ उनले भने ।

सविधानको मर्म र भावना अनुरुप, देशको भावना र आकांक्षाअनुरुप, बहुमत सांसदहरुको आकांक्षा र चाहनाअनुरुप सर्वोच्चले फैसला दिने नेता पौडेलको विश्वास छ । प्रतिनिधिसभा विघटन विरुद्ध १४६ सांसदहरु सर्वोच्च अदालत गएका छन् ।

उनीहरुले संसद पुनर्स्थापना गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको मागदाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस