बाबुराम र उपेन्द्रले पठाए महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १२ : १४
बाबुराम र उपेन्द्रले पठाए महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने गृहकार्य थालेका छन् ।

यसका लागि तयार रहन महन्थ ठाकुरलाई प्रस्ताव पनि पठाएका छन् । दुवै नेताले यसका लागि अन्य प्रतिपक्ष दलहरुसंग पनि छलफल गरेका छन् । जसपाको नेतृत्वमा सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षले पनि सघाउने गरी कुराकानी अगाडि बढेको एक नेताले बताए ।  

उनले भने, ‘अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रस्ताव पठाइसक्नु भएको छ । महन्थ ठाकुरले जसपाको नेतृत्वमा सरकार बनाउने कि ओलीलाई साथ दिने उहाँमा निर्भर छ । उहाँको जवाफको प्रतीक्षा भइरहेको छ ।’ अध्यक्षद्वय भट्टराई र यादवले आजै एमालेका नेता माधवकुमार नेपाल, काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका छन् ।

उनीहरु जसपा नेतृत्वमा सरकार बनाउन सकारात्मक रहेको बताइएको छ । यद्यपि अझै छलफलहरु जारी रहेको छ।  जसपाका एक कार्यकारिणी सदस्यका अनुसार महन्थ ठाकुर प्रधानमन्त्री हुन तयार नभए माधवकुमार नेपाललाई पनि प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन सकिने विषयमा पनि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस