उपेन्द्र यादव भन्छन् : ‘महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाऔं’

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, ०८ : ३२
उपेन्द्र यादव भन्छन् : ‘महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाऔं’

काठमाडौं । राजनितिक डिसकोर्स परिवर्तन भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । 

अध्यक्ष यादवले शुक्रबार संचारमाध्यमहरुसंग कुराकानी गर्दै पार्टीले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताए।उनल भने–‘अब ठाकुरजीलाई प्रधानमन्त्री बनाउनुपर्छ। हाम्रो पार्टीले उहाँलाई नै अगाडि सार्छ, ‘यस विषयमा अरू पार्टीसँग हामी कुराकानी गर्छौं।’ प्रधानमन्त्री बन्न ठाकुर तयार छन् त भन्ने प्रश्नमा उनले भने, ‘मान्नुहुन्छ होला।’

केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत नलिईरराजीनामा नदिई राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन्। राष्ट्रपतिले आज साँझ ५ बजेभित्र नयाँ सरकार आह्वान बनाउन समय दिएकी छन्।

राष्ट्रपतिको यो कदम संविधानविपरीत भएको अध्यक्ष यादव बताउँछन्। अब कसरी अगाडि बढ्ने भन्नेबारे अरू दलसँग पनि परामर्श गरिने उनले बताए। उनले अरू सरकार नबनोस् भन्ने नियत राखेर रातको समय पारेर नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएकोसमेत दाबी गरेका छन्।

यता अर्का अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीले आफुहरुको माग पुरा गर्दै गएकोले त्यो पक्षबाट पनि विचार गर्न सकिने बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस