संक्रमितलाई लक्ष्य गरी रक्तदान

रासस

विहीबार, ०६ जेठ २०७८, २० : ०४
संक्रमितलाई लक्ष्य गरी रक्तदान

फाइल फोटो

काठमाडौंं । कोरोना महामारीको समयमा पनि बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको संख्या नघटेको जनाइएको छ ।  नेपाल रेडक्रसको नेपालगञ्जस्थित रक्तसंचार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयम्सेवककोे छ । 

अहिले रक्तदानमा संस्थाहरुको सहभागिता पनि बढेपछि माग पनि त्यही अनुपातमा बढेको जनाइएको छ । ‘रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको संख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ’, रेडक्रस बाँकेका सभापति गोबर्धनसिंह सम्झनाको भनाइ छ  । 

रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास थालिएको छ । रेडक्रस बाँकेका सभापति सम्झनाका अनुसार संकलित रगत कोरोना संक्रमित, गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा प्रयोग हुने गरेको छ । 

यसैबीच अनलाइन पत्रकार संघ, बाँकेले नेपालगञ्जमा साताव्यापी रक्तदान कार्यक्रम शुरु गरेको संघका अध्यक्ष कमल न्यौपानेले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका  केन्द्रीय सदस्य ऋषिराज देवकोटाले ‘महामारीमा रक्तदान’ भन्ने अभियान सञ्चालन गरेका छन् ।