विवेकशील साझा पार्टीले गर्यो राष्ट्रियसभा उपनिर्वाचनमा मतदान नगर्ने निर्णय

‘तिनै जना उम्मेदवारले अपेक्षित भूमिका निर्वाह गर्न सक्दैन’

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, ०८ : ५९
विवेकशील साझा पार्टीले गर्यो राष्ट्रियसभा उपनिर्वाचनमा मतदान नगर्ने निर्णय

काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेशतर्फ रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज हुने उपनिर्वाचनमा मतदान नगर्ने जनाएको छ । पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले  विज्ञप्ति जारी गर्दै पार्टीले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको जानकारी दिएका  छन् ।

विज्ञप्तीमा भनिएको छ–‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ ।’ 

बागमतीमा नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल समूहबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।  वाग्मती प्रदेशमा विवेकशील साझाका तीन जना प्रदेशसभा सदस्य मतदाता रहेका छन्।

वागमती प्रदेशसभामा विवेकशील साझा पार्टीका तीन जना सांसद छन् । उनीहरुको कुल मत भार १४४ छ । यो मत कुनै उमेद्वारलाई पनि नपर्ने भएको छ । यस्तै विवेकशील साझाले मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न सरकार र निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय पनि गरेको पौड्यालले बताए । विवेकशील साझाले सर्वोच्च अदालतले २०७० पौष २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको ब्यहोरा स्मरणीय गराएको छ । 

प्रतिक्रिया दिनुहोस