यस वर्षको ब्लूमक्विस्ट पुरस्कार सुकृति शर्मालाई

एजेन्सी

सोमबार, ०३ जेठ २०७८, ११ : ३२
यस वर्षको ब्लूमक्विस्ट पुरस्कार सुकृति शर्मालाई

काठमाडौं ।  ‘सत्र पुष्प पत्रहरु’ नामक कथासंग्रहकी लेखक सुकृति शर्मालाई ब्लूमक्विस्ट परिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट–२०२१ वर्ष पुरस्कार प्रदान गरेको छ ।

परिवार, विद्यालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूल अन्तर्गतका उत्कृष्ट विद्यार्थीहरु मध्येबाट छानिने एकजनालाई वार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५ हजार डलर छ ।

ब्लूमक्विस्ट परिवारिक प्रतिष्ठानले लामो समयदेखि ‘कलेज एक्सेस फेयरफ्याक्सः ओपनिङ्ग डोर टु द फ्युचर’ नामक संस्थामार्फत उक्त पुरस्कार प्रदान गर्दै आएको जनाइएको छ ।

पुरस्कार पाएपछि नेपाली–अमेरिकी चेली सुकृति शर्माले आफ्नो कडा परिश्रम, बुबाआमाको प्रोत्साहन र आफ्नो सिर्जनशीलताकै परिणामस्वरुप पुरस्कृति हुन सफल भएको बताइन् ।

उनले आफ्नो भाइ साइमनसँग मिलेर लेखेको ‘सत्र पुष्प पत्रहरु’ नामक कथासंग्रह उल्लेखनीय रुपमा बिक्री भइरहेको छ । उक्त पुस्तक फेयरफ्याक्स काउन्टी पुस्तकालयले पाठक सदस्यहरुलाई अध्ययनका लागि २३ वटै शाखामा उपलब्ध गराएको छ ।

उक्त पुस्तकबाट उठेको रकम नेपाल र लेबनानस्थित शरणार्थी शिविरमा रहेका बालबालिकाहरूको स्वास्थ्य सेवाका लागि खर्च गरिने सुकृतिले बताइन् ।

‘अमेरिकाको भविष्यका डाक्टरहरु’ नामक स्कूलस्तरीय क्लबको उपाध्यक्ष समेत रहेकी सुकृतिले सप्ताहन्तमा इनोभा फेयरफ्याक्स क्याम्पसमा स्वयम्सेविकाको रुपमा काम गर्दै आइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस