बुटवलमा आईसियू र एचडीयू शय्या अभावमा ६ जना कोरोना संक्रमितको आकस्मिक कक्षमै मृत्यु

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, ११ : ४२
बुटवलमा आईसियू र एचडीयू शय्या अभावमा ६ जना कोरोना संक्रमितको आकस्मिक कक्षमै मृत्यु

बुटवल ।  लुम्बिनी प्रादेशिक कोभिड अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) शय्या अभावमा ६ जना संक्रमितको मंगलवार राति मृत्यु भएको छ ।  मृतक ६ जनामध्ये ५ जना अस्पतालको आकस्मिक कक्ष र १ एचडीयू शय्या पर्खिंदापर्खिंदै मृत्यु भएको हो । 

मृत्यु हुनेमा मंगलवार आकस्मिक कक्षमा आएका पाल्पाको तानसेन नगरपालिका–१४ का ३८ वर्षीय पुरुष छन् । उनको मंगलवार राति ११ बजे मृत्यु भएको हो । रुपन्देहीको सैनामैना–७ का ३५ वर्षीय पुरुषको मंगलवार साँझ ६ः३५ बजे, वैशाख २६ गतेदेखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलवार साँझ ५ः३३ बजे मृत्यु भएको हो ।

मंगलवार नै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधवार बिहान ७ः५२ बजे मृत्यु भएको छ । वैशाख २४ गतेदेखि इमर्जेन्सीमा रहेका तिलोत्तमा–१ का ५७ वर्षीय पुरुषको बुधवार बिहान ५ः५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मंगलवार नै गम्भीर अवस्थामा इमर्जेन्सीमा ल्याइएका बुटवल–६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू शय्यामा पुर्‍याएलगत्तै मंगलवार राति ७ बजे मृत्यु भएको उनले बताए । 

डा. गौतमका अनुसार मृतकहरूमध्ये ५ जनाले कोरोना विशेष अस्पतालमा आईसीयू र एचडीयू शय्या कुरेर इमर्जेन्सी वार्डमा बसिरहेका थिए । कोभिड विशेष अस्पतालमा शय्या खाली नभएपछि इमर्जेन्सीमै ज्यान गएको थियो । रुपन्देहीमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या २९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस