कोरोना संक्रमितको उपचारमा लापरवाही गरेको भन्दै जनकपुर अस्थायी कोभिड अस्पतालमा तोडफोड

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, ०९ : १३
कोरोना संक्रमितको उपचारमा लापरवाही गरेको भन्दै जनकपुर अस्थायी कोभिड अस्पतालमा तोडफोड

जनकपुरधाम । कोरोना संक्रमित बिरामीको उपचारमा चिकित्सकहरुले लापरबाही गरेको भन्दै एक बिरामीका आफन्तले प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र तोडफोड गरेका छन् ।

जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएर उपचार हुँदै आएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै चन्द्रकला अस्पताल लैजान खोज्दा महतोको मृत्यु भएको थियो । त्यसपछि उनका छोराहरू वर्ष ३४ का मनोज महतो र वर्ष २७ का पप्पु महतोले अस्पतालका उपकरण तोडफोड गर्दै चिकित्सकमाथि हातपात गरेको धनुषा प्रहरी कार्यालयका प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

उनीहरुले गरेको तोडफोडबाट तीन वटा भेन्टिलटर बिग्रेको कोरोना अस्पतालका प्रवक्ता डा. मनीष पाण्डेले जानकारी दिए । उनका अनुसार अन्य उपकरणमा समेत क्षति पुगेको र बुझ्ने काम भइरहेको छ । ती युवाको समूहले स्टाफ नर्ससहित चार जना स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । दुई जना घाइते नै भएको डा. पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस