काठमाडौं । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनबारे दलले प्रयासलाई तीव्र बनाएका छन् । यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।
यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरे पनि राष्ट्रिय जनमोर्चासँग अझै कुरा मिल्न सकेको छैन ।
जनमोर्चाले यसअघि अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरे पनि पार्टी संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा कांग्रेससहितका दललाई समस्या परेको छ ।
बहुमत ३१ सदस्य पुग्नका लागि जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । जनमोर्चाका तर्फबाट प्रदेशसभा संसदीय दलका नेता थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको पार्टीका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनका पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्विप पनि जारी गर्नुभएको छ । पार्टीको निर्णय परिवर्तन नभएको बताउँदै अध्यक्ष बरालले बुधबारसम्म थापाले हस्ताक्षर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा(एमाले)का २७ जना छन् भने एक स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा हुनुहुन्छ । त्यस्तै कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२ र जसपाका दुई सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २८ बैशाख २०७८, २१ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे