वैशाख महिनामा खाने तेलमा प्रतिलिटर ५० रुपैयाँ बढ्यो, तेलमा चरम कालोबजारी भएको उपभोक्ताको ठहर

विश्व बजारमा प्रोटिनको खपत बढेर तेलको मुल्य बढेको उद्योगीको भनाई

प्रकाश सिग्देल

मंगलबार, २८ बैशाख २०७८, १५ : ५७
वैशाख महिनामा खाने तेलमा प्रतिलिटर ५० रुपैयाँ बढ्यो, तेलमा चरम कालोबजारी भएको उपभोक्ताको ठहर

चितवन । भान्सामा नभै नहुने खाने तेलको मूल्य क्रमिक बढेको बढेकै छ । लकडाउनको बाहाना बनाएर ब्यवसायीहरुले उपभोक्ताको ढाड सेक्ने गरी यसको मुल्य बढाएका छन् । गत वर्ष लकडाउन सुरु हुँदा देखी अहिले सम्म  खाने तेलमा प्रति लिटर १०० रुपैया मुल्य बढेको छ भने यो वैशाखमा मात्रै प्रति लिटर ५० रुपैयाँ मुल्य बढेको पाईएको छ । नियमनकारी निकायको उदासिनताले बजारमा खाद्य वस्तुको मुल्य चरम चुलीमा पुगेको हो । 

कसरी बढ्यो मुल्य ? यस्तो छ उद्योगीको भनाई

शिबशंक्ती तेल मिल रिफाइनरी उद्योग गैँडाकोटका सञ्चालक उद्योगी दिपक सापकोटाले बिगतको वर्ष भन्दा अहिले सबै प्रकारका तेलको मुल्यमा प्रति लिटर १ सयको हाराहारीमा बृद्धि भएको बताए ।  बिश्वभरी आएको यो महामारीले गर्दा मानिसहरुले प्रोटिनको प्रयोग बढी गरेकाले त्यसैको असरले खाने तेलको मुल्य अन्तर्राष्टिय बजारमै बढेको सापकोटाको भनाई छ । सापकोटाका अनुसार भट्टमास तेलको अहिले बजार मुल्य प्रतिलिटर २४० , सनफ्लावरको मुल्य अहिले प्रति लिटर २५०, माथि र तोरीको तेलको मुल्य ३०० माथि पुगेको छ । तेलको मुल्य कुनै व्याक्ति बिशेषले आफै स्वइच्छाले बढाउन नसक्ने विश्व बजारमा नै मुल्य बढेकाले यहाँ मुल्य बढेको सापकोटाको दाबी छ ।

एग्रो गोल्ड, शुभ श्री तोरी तेल तथा अम्वे, बेला, आहा, लगाएतका उपभोक्ताले धेरै मन पराएका तेलको ब्राण्डका मालिक सापकोटाले अहिले भने डेढ महिना देखी आफनो उद्योग बन्द रहेको बताए । आफुले अत्याधुनिक प्रबिधिको नेपालकै ठुलो क्षमताको दैनिक १ लाख २५ हजार लिटर उत्पादन क्षमताको उद्योगको सेटअपमा लागेकाले पुरानो उद्योग अहिले बन्द जस्तै रहेको र बिगत डेढ महिना देखी उत्पादन रोकेको सापकोटाको भनाई छ ।

 उनले अहिले उद्योगीले नै महंगो मुल्यमा कच्चा पदार्थ खरिद गर्न बाध्य भएकाले त्यसलाई प्रशोधन गरेर पठाउदा खुद्रा बजारमा तेलको मुल्य बढेको दाबी गरे । यसरी मुल्य दैनिक बढ्दा उपभोत्ता लाई ठुलो मार परेको उनको भनाई छ ।

यस्तो छ बिगत र अहिलेको बजार मुल्य

गत वर्षको लकडाउनका बेला चैत्र महिनामा सनफ्लावरको मुल्य १५० , भट्टमासको मुल्य १३० र तोरी तेलको मुल्य २१० हाराहारीमा रहेको थियो ।

यो चैत्रमा त्यो मुल्य बढेर सनफ्लावर तेल प्रतिलिटर २ सय १० को हाराहारीमा थियो । भट्टमासको तेल पनि प्रतिलिटर १९० देखी २ सय थियो भने तोरी तेलको मुल्य २५० थियो । अहिले एक महिनाको अन्तरालमा फेरी प्रतिलिटर ५० रुपैया बढेको छ । बैशाखमा भट्टमास तेलको बजार मुल्य प्रतिलिटर २४० ,सनफ्लावरको मुल्य अहिले प्रति लिटर २५० माथी र तोरीको तेलको मुल्य ३०० माथि पुगेको छ । तोरीको तेलमा  धारा तेलको मुल्य अच्चाक्ली बढेको बताईएको छ ।

व्यक्ति हेरेर मुल्य लिन्छन् व्यवसायी

मुल्य अनुगमन गर्ने निकायले यसको खास सत्य तथ्य केहो भनेर अनुगम नगर्दा पनि उपभोक्ताहरु मारमा छन् । खुद्रा ब्यवसायीले अहिले आफै अन्दाधुन्द मुल्य निर्धारण गरेर खाद्य पदार्थ बिक्री गरेको उपभोक्ताहरु बताउँछन् । उद्योगी बाट सस्तोमा खरिद गरेर धेरै नाफा खाएर खुद्रा ब्यवसायीले बिक्री गरेको अनुमान उपभोक्ताको छ ।

ब्यापारीले मान्छे हेरेर तेलको मुल्य बढाएको भरतपुर भोजाडका अमित गुरुङले बताए । छोरा छोरी लाई तेल किन्न पठाउदा एउटा मुल्य आफु जादा अर्को मुल्य व्यवसायीले लिने गरेको उनको भनाई छ ।

केही महिनासम्म केही स्थिर देखिएको खानेतेलको भाउ फेरि दैनिक बढेको बढेकै छ । दिनै बिच्छे बजारमा मुल्य बृद्धि हुनुले खुद्रा ब्यवसायीहरुको बदमासी भएको ठहर उपभोक्ता अधिकार कर्मीको छ ।

के छ उपभोक्ता कर्मीको भनाई ?

बजारमा खाने तेल सहित खाद्य बस्तुको मुल्य अच्चाक्लि बृद्धि हुदा समेत मुल्य नियन्त्रण गर्न स्थानिय प्रशासनले चाँसो नदेखाएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका बरिष्ठ उपाध्यक्ष बिष्णु भुषालले बताए । यस्तो महामारीका बेला पनि कृतिम अभाव सृजना गरी उपभोक्ता ठगी गर्ने हरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालय र सरोकार वाला सबै निकायले बजार अनुगमन लाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाको भनाई छ । जिल्ला प्रशासनले जनसरोकारका लागी ध्यान नदिएको भुषालको ठहर छ ।

थोक व्यवसायीको तर्क

थोक व्यवसायीका अनुसार तीन महिना यता बजारमा खानेतेलको मूल््य घट्नेभन्दा पनि उकालो लाग्ने क्रम क्रमिक छ । एक पटक खरिद गरेको तेलको स्टक सकिन नपाउदै मूल्य बढिसक्ने किराना व्यवसायीहरुको दुखेसो छ । जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि यसको खास छानबिन गरी दोशीलाई कारबाही गर्न नसक्दा बजारमा मुल्य दैनिक बढेको ठहर उनीहरुको छ ।   

सरकारी अधिकारीको तर्क यस्तो छ 

यता नियमन कारी निकाय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले तेलको मुल्य पहिला भन्दा धेरै बढेको पाईएको स्वीकार गरे । अत्याधिक मुल्य बढेको उपभोक्ताबाट गुनासो आएपछि आँफुहरु बजारमा अनुगमनमा गएको र सो क्रममा किराना ब्यवसायीले उद्योगबाटै मुल्य बढेर आएकाले मुल्य बढाउनु परेको बताएको जवाफ दिए । अघिल्लो चैत्र देखी अहिले सम्म प्रति लिटर १०० रुपैया बढि मुल्य बृद्धि भएको पाईएको उनको भनाई छ । आँफुहरुले मुल्य बृद्धिको खास कारण पहिचान गरी बढि मुनाफा खाएर कालो बजारी गरेको भेटिएमा उद्योगी देखी खुद्रा ब्यवसायी सम्म लाई कारबाही गर्ने गरि तयारी थालेको अधिकारीको भनाई छ । यहि बिषयमा प्रमुख जिल्ला अधिकारीसंग आज मात्रै छलफल भएको र यो जटिल अवस्थामा कालोबजारी गर्ने चर्को मुल्य लिई उपभोक्ता ठग्ने काम गरेको भेटिएमा जो कोही भएपनि कारबाही हुने उनको दाबी छ । आफुहरुले खाद्य पसलहरुमा अनुगमन भने जारी राख्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस