कोभिड–१९ उपचारका लागि अस्पताल र शय्या थप

रासस

सोमबार, २७ बैशाख २०७८, १४ : ५८
कोभिड–१९ उपचारका लागि अस्पताल र शय्या थप

काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै सङ्क्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए ।उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र पाँच भेन्टिलेटर थप गरिएको छ । नयाँ थपसँंगै अहिले अस्पताल ५०५, आइसियु एक हजार ८७१, भेन्टिलेटर ७४१, एचडियु दुई हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन् । 

प्रवक्ता आचार्यका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट काठमाडौँ उपत्यकामा तीन टोली परिचालन गरी बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा छ  पसललाई जरिवाना गरिएको छ । 

यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराउने अक्सिजनका ४०० खाली सिलिण्डर लिन आज नेपाल वायुसेवा निगमको वाइड बडी जहाज जाँदै छ ।  नेपालमा अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर छ । चीन सरकारले उपलब्ध गराउने २० हजार सिलिण्डर आएपछि ३७ हजार ७६१ अक्सिजन सिलिण्डर पुग्ने छ ।

प्रवक्ता आचार्यले अलपत्र नागरिकलाई चार्टर गरेर उद्धार गरिएको जानकारी दिए ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, पोखरा, नेपालगञ्ज, लुक्ला र सुर्खेत विमानस्थलबाट १२७ आन्तरिक उडान भरी आइतबार १४८ यात्रुलाई उद्धार गरिएको छ । 

यस्तै उहाँले खोप, स्वास्थ्य उपकरण तथा सामग्री वस्तुगत सहायतास्वरुप उपलब्ध गराइदिन चीन, जापान र गणतन्त्र कोरियाका नेपालस्थित दूतावासलाई समेत अनुरोध गरिएको जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस