सरकारी जमिन अतिक्रमण गरेर रिसोर्ट बनाउदै क्षेत्रपुरका एक व्यवसायी

नदि किनारमा बनाइएको संरचना तत्काल भत्काउन माग

प्रकाश सिग्देल

आइतबार, २६ बैशाख २०७८, १३ : २७
सरकारी जमिन अतिक्रमण गरेर रिसोर्ट बनाउदै क्षेत्रपुरका एक व्यवसायी

चितवन । देवघाट गाउँपालिका ५ नम्वर वडाको घिनाटार ठिमुरा देवघाट जोड्ने तनहुँ तर्फको नदि किनारमा क्षेत्रपुुरका एक व्यवसायीले ऐलानी जग्गा अतिक्रमण गरेर रिसोर्ट बनाएका छन् । अघिल्लो वर्ष लकडाउनका बेला उनले नदि किनारको जमिन अतिक्रमण गरेर नदि किनारमा रिसोर्ट बनाएको ठिमुराका स्थानियहरुले बताए ।

नारायणी नदि किनारको चट्टानको माथि उनले पाहुना बसेर मनोरञ्जन गर्ने ठाउँ बनाएका छन् भने त्यसको माथी दुई तले सुविधायुक्त रिसोर्ट बनाएका छन् । ठिमुरा देवघाट जोड्ने पुल निमार्ण कार्यले तिव्रता पाएपछि क्षेत्रपुरका एक व्यवसायीले हतार हतारमा सरकारी जमिन अतिक्रमण गरी संरचना निर्माण गरेको ठिमुराका स्थानिय वासिन्दा धन बहादुर जिसीले बताए ।

नारायणी नदि किनारमा सरकारी जग्गा अतिक्रमण गरेर जे मनलाग्यो त्यही गर्न कसैले पनि नपाउने र यो बिषयमा खोजी गरी कारबाही गर्नुपर्ने उनको भनाई छ । देवघाट गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष यल बहादुर गुरुङले सो जग्गा  एैलानी जग्गा भएको र क्षेत्रपुरका हिरा गुरुङले बस्नका लागी संरचना बनाएको बताए ।

त्यहाँ त भब्य रिसोर्ट बनि राखेको छ नी ? भन्ने हाम्रो प्रश्नमा उनले सुरुमा ट्रस्ट बनाउदा आफू त्यहाँ गएको अहिले के कति बनायो भन्ने त आफुलाई जानकारी नभएको तर उसले ३७ सालदेखी चर्केर राखेको जमिन भएकाले आफु बस्ने घर बनाउन लागेको भनेर एक वर्ष अगाडी आफुलाई बताएको उनको भनाई छ ।

अहिले बत्तिको लागि सिफारिस माग्न आएको र देवघाटमा सबै ऐलानी जग्गामा वस्ति भएकाले ऐलानी जग्गामा बनाएको संरचनाका लागि बत्तिको सिफारिस दिने गरिएको उनले बताए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले ऐलानी जग्गामा कसैले पनि होटल रिसोर्ट बनाउन नपाउने र देवघाट क्षेत्रविकास भित्र रहेका सबै ऐलानी जग्गाको संरक्षण  देवघाट क्षेत्र विकास समितिले गर्ने बताए । रामेश्वर मन्दिर छेउका एक व्यवसायीले त्यहाँ संरचना बनाएको भन्ने आफुले सुनेको र त्यो मुख्य धार्मिक क्षेत्र भन्दा बाहिरको क्षेत्र परेकाले यो बिषयमा थप अनुसन्धान गर्ने र नियम विपरित संरचना बनेको भए कारबाही गर्ने अधिकार भने गाउँपालिकालाई रहेकाले गाउँपालिका जिम्मेवार बन्नु पर्ने भन्दै उनी आफनो जिम्मेवारी बाट पन्छिन खाजे ।

देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेलले कसैले पनि लागि तत्काल कारवाही गर्न आवश्यक रहेको बताए  । यस्तो बिषयमा क्षेत्र विकास पन्छिन नहुने उनको तर्क छ । पछिल्लो समय देवघाटमा ऐलानी जग्गा खरिद बिक्री हुने र त्यहाँ भव्य संरचना बनाउने कामहरु तिव्र भएको गुनासाहरु स्थानियले गरिरहेका छन् । यो बिषयमा जिल्ला प्रशासन कार्यालय चितवन र तनहुँले पनि बिशेष ध्यान दिन जरुरी छ । देवघाट अतिक्रमणका थप तथ्यहरु सार्वजनिक गर्दै जानेछौ ।

प्रतिक्रिया दिनुहोस