भत्किएको ठिमुरा देवघाट जोड्ने पुलको निमार्ण कार्य पुन: थालियो

प्रकाश सिग्देल

शुक्रबार, २४ बैशाख २०७८, १७ : ३६
भत्किएको ठिमुरा देवघाट जोड्ने पुलको निमार्ण कार्य पुन: थालियो

चितवन । गत चैत्र २८ गते र बैशाख १२ गते निमार्णकै क्रममा भाँचिएको चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निमार्णको काम पुनः सुचारु भएको छ । यहि १६ गते जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीको अध्यक्षतामा तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारी सहित बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोेषीलाई कारवाही गर्ने र पुल निर्माण कार्यलाई तत्काल अगाडी बढाउने निर्णय गरेको थियो ।

निमार्ण व्यवसायी र सडक डिभिजन कार्यालय चितवनको मुख्य लापरबाहीले पुल भत्किएर मानविय र भौतिक क्षती भएको ठहर गर्दै तत्काल यथार्थ छानविन गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको पुल निर्माण समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए । बैठकले वर्षातमा नदि बढेर आउँदा बाढिको जोखिम हुने भएकाले भत्किएको संरचना जेठ १५ गते भित्रनै हटाउन निर्देशन समेत दिएको छ ।

त्यस्तै बैठकले पुल निर्माण अनुगमन समिति समेत निमार्ण गरेको पौडेलले बताएका छन् । चितवनका जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा ९ सदस्य अनुगमन समिति निर्माण गरेको उनले जानकारी दिए । ठेकेदार कम्पनिले अहिले क्रेन मार्फत त्यहाका भग्नावशेषहरु हटाउने काम थालेको छ । एक वर्ष भित्र निमार्ण कार्य सक्ने गरी काम गर्न ठेकेदारलाई निर्देशन भएको पौडेलले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस