मेरो विजय सुनिश्चित छ  ः गृहमन्त्री बादल

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १३ : २४
मेरो विजय सुनिश्चित छ  ः गृहमन्त्री बादल

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपचुनावमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको छ । बाग्मती प्रदेशको राजधानी हेटौंडामा शुक्रवार राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारी दर्ता गराएपछि गृहमन्त्री थापाले राष्ट्रिय सभा सदस्यमा आफ्नो विजय सुनिश्चित रहेको दाबी गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै थापाले आफ्नो विजय सुनिश्चित रहेको बताएका हुन् । 

‘राष्ट्रिय सभाको रिक्त पदमा मेरो उम्मेदवारी भर्खरै दर्ता गरेको छु । बाग्मती प्रदेशमा रहेका ९ हजार ५ सय ६४ मतमध्ये हाम्रो पार्टीको पक्षमा ५ हजार १ सय ३० मत छ । यो मतले नै के स्पष्ट गरेको छ भने मेरो विजय सुनिश्चित छ,’ गृहमन्त्री थापाले भने । 

एमाले बाग्मती प्रदेश कमिटीका इञ्चार्ज समेत रहेका थापाले स्वतन्त्र उम्मेदवारलाई पार्टीले समर्थन गर्ने कुरा हल्ला मात्र रहेको दाबी गरे । 

पार्टीको एउटा पक्षले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने चर्चा छ नि भनेर सोधिएको प्रश्नमा गृहमन्त्री थापाले भने, ‘त्यो हल्ला मात्र हो, त्यस्तो सम्भावना हामीले देखेका छैनौं ।’ 

माओवादी केन्द्रको प्रस्ताव र कांग्रेसको समर्थनमा माधव नेपाल पक्षीय खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस