राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन, १३ जना मतदान गर्न नपाउने

सफल खबर संवाददाता

विहीबार, १० पुस २०८२, १२ : ४०
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन, १३ जना मतदान गर्न नपाउने

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भएको छ ।

निर्वाचन आयोगले आयोगबाट स्वीकृत भएको प्रारम्भिक मतदाता नामावली सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरेको हो ।

आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् ।

यसअनुसार प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४३ जनाको प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको छ ।

आयोगका अनुसार स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यमध्ये अदालतको आदेश बमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी जम्मा पाँच जना प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी जम्मा आठ जना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।

प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस