हेटौंडाको एक फार्मेसीमा प्रशासनले गर्यो शिलबन्दी

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १६ : ०९
हेटौंडाको एक फार्मेसीमा प्रशासनले गर्यो शिलबन्दी

मकवानपुर  । दर्ता नगरी संचालन गरेको र फर्मासिष्ट नराखी औषधि बिक्री वितरण गरेको भन्दै मकवानपुरको हेटौंडामा एक औषधि पसलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शील गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ शीतलमहल चोकमा रहेको आकृश फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको अनुगमन टोलीले शील गरेको हो ।

प्रशासन कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्वास्थ्य सेवा विभाग, उद्योग वाणिज्य संघसहितको संयुक्त अनुगमन टोलीले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगरेको र फामासिष्ट बिना नै औषधि बिक्री वितरण, अनुमति बिना ल्याब संचालन गरेको भन्दै उक्त औषधि पसलमा शील गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त अनुगमन टोलीले हेटौंडा बजारका अन्य ८ वटा पसलहरूमा समेत अनुगमन गरेको जनाइएको छ । अनुगमनका क्रममा ती पसलहरूमा फेला परेका म्याद नाघेका पेय पदार्थ पनि नष्ट गरिएको जनाइएको छ ।

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रशासन कार्यालयले कोरोना संक्रमणको नियन्त्रण र प्रशासनको निर्णय कार्यान्वयन भए नभएको अनुगमनलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस