अस्पतालमा अक्सिजनको अभावमा मृत्युसँग लड्दै कोरोना संक्रमित

शुक्रबार, १७ बैशाख २०७८, ०८ : ०२
अस्पतालमा अक्सिजनको अभावमा मृत्युसँग लड्दै कोरोना संक्रमित

नेपालगंज । भेरी अस्पतालको कोभिड वार्डमा एकजना महिला छट्पटाइरहेकी छन्। उनको मुखमा अक्सिजन लगाइएको छ र पनि उनलाई अप्ठ्यारो भइरहेको सहजै अनुमान लगाउन सकिन्छ। महिलाको रेखदेख गर्न बसेका (कुरुवा) पुरुषले बेला–बेलामा ढाडस दिइरहेका छन्, ‘मनोबल उच्च बनाऊ।। तिमीलाई केही हुँदैन।। हरेस नखाऊ।’ ती महिलालाई कोरोना संक्रमणले बेस्सरी च्यापेको जस्तो देखिन्छ। 

सोही वार्डमा भर्ना भएका अन्दाजी ५५ वर्षका पुरुषको अवस्था झन् गम्भीर देखिन्छ। उनको रेखदेख गर्न परिवारका तीनजना खटिएका छन्। उनीहरूले संक्रमितलाई बचाउन हरसम्भव प्रयास गरिरहेका छन्। ‘बाबालाई बचाऊ भगवान्।।बचाऊ,’ नजिकै उभिएकी छोरीको सानो आवाज सुनिन्छ।  

कोभिड वार्डकै एकजना युवक कोरोना भाइरससँग अन्तिम लडाइँ लडिरहेका छन्। कोरोना संक्रमण भएपछि यही वैशाख ९ गतेबाट छोरालाई अस्पताल भर्ना गरेका बाबु कहिले छोराको मुखमा हेरेर रुन्छन्, कहिले भगवान् पुकार्छन्। ‘छोरालाई निको गराएर घर फर्काउने मन छ तर कोरोनाले झन्झन् च्याप्दै लगेको छ,’ उनले नागरिकसँग भने।  भेरी अस्पतालको कोभिड वार्ड कोरोना संक्रमितले भरिएको छ। धेरैजसो संक्रमित अक्सिजनको सहायतामा मृत्युसँग लडिरहेका छन्। संक्रमितको तुलनामा निकै कम स्वास्थ्यकर्मी खटिएका छन् र पनि सक्दो सेवा गरिरहेकै छन्।

कोभिड वार्डको १२ नम्बर बेडमा छिन् अन्दाजी ७६ वर्षीया महिला। बुधबार साढे ५ बजेतिर नागरिककर्मी स्थलगत रिपोर्टिङमा पुग्दा उनका आफन्त त्यहाँ थिएनन्। कहिले बेडमा सुत्थिन्, कहिले उठेर सुस्केरा हाल्थिन्। कोही नजिक आउँदा उनी भन्थिन्, ‘छाती पोल्यो, औडाहा भयो।’ भेरी अस्पतालको कोभिड वार्ड कोरोना संक्रमितले भरिएको छ। धेरैजसो संक्रमित अक्सिजनको सहायतामा मृत्युसँग लडिरहेका छन्।  

संक्रमितको तुलनामा निकै कम स्वास्थ्यकर्मी खटिएका छन् र पनि संक्रमितको सक्दो सेवा गरिरहेकै छन्। संक्रमितका आफन्त स्वास्थ्यकर्मीको योगदानलाई खुलेरै प्रशंसा गर्छन्। ‘संक्रमितलाई बचाउने भनेको नै अहिले अक्सिजन हो, अक्सिजन पाएका बिरामीमा केही बाँच्ने आशा हुँदोरहेछ,’ संक्रमितका आफन्त टंकप्रसाद धमलाले भने।

लामो समयसम्म अक्सिजन दिदाँ पनि उनले आफन्तलाई बचाउन सकेनन्। कोरोना पोजेटिभ भएपछि भेरी अस्पतालमा मंगलबार बिहान मात्र भर्ना भएका उनका आफन्त (काका) को २४ घण्टा नपुग्दै मृत्यु भयो।  कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले नेपालगन्जलाई लकडाउन गरेको छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस