उपत्यकामा निषेधाज्ञा : नटेरे ठाउँको ठाउँ कारबाही

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, ०८ : ०४
उपत्यकामा निषेधाज्ञा : नटेरे ठाउँको ठाउँ कारबाही

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागु गरेको छ। अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि प्रहरीले सडकमै कारबाही गर्नेछ। निषेधाज्ञा लागु भएपछि बिनाकाम सडकमा निस्कने, भीडभाड गराउने, कोरोनाको जोखिम बढाउनेलाई प्रहरीले कारबाही गर्नेछ। निषेधाज्ञा नमान्नेलाई सडककै एक घण्टा उभ्याएर छाड्ने तयारी गरिएको नेपाल प्रहरीले जनाएको छ।  

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले निषेधाज्ञा लागु गराउन उपत्यकामा करिब २ हजार प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार प्रहरीले बिनाकाम बाहिर निस्कनेलाई कारबाही गर्नेछ। उनले भने, ‘बिरामी र अप्ठेरोमा परेकाहरूलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइन्छ तर बिनाकाम बाहिर निस्कन दिइँदैन।’ उनका अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियमको आधारमा प्रहरीले कडाइ गर्नेछ। अत्यावश्यक र तोकिएका सवारीसाधन भने गुड्न पाउनेछन्।  

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा अटेर गर्नेलाई प्रहरीले ठाउँको ठाउँ कारबाही गर्ने जानकारी दिए। उनले संक्रमणको अवस्था गम्भीर बन्न थालेपछि निषेधाज्ञा जारी गरिएकाले यसको पालना सबैले गर्नुपर्ने बताए। ‘आज ९बिहीबार० देखि काठमाडौंमा अत्यावश्यकबाहेकका सबै गतिविधि र कार्यालय बन्द हुनेछन्,’ उनले भने, ‘नियम उल्लंघन गर्नेमाथि प्रहरीले कारबाही गर्नेछ।’ उनले सबैको स्वास्थ्य सुरक्षाका लागि प्रशासनले लकडाउन लागु गरेको बताउँदै थपे, ‘नियम पालना गर्न सके संक्रमण पनि छिटो नियन्त्रणमा आउँछ।’  

जिल्ला प्रशासनले बिहीबारदेखि सभासम्मेलन आयोजना र मनोरञ्जन क्षेत्र सञ्चालन गर्न नपाइने नियम लागु गरेको छ। त्यस्तै विवाह व्रतबन्ध वा धार्मिक कार्यक्रमको हकमा १५ जनासम्म मात्रै सरिक हुन पाउनेछन्। अत्यावश्यकबाहेकका सार्वजनिक र निजी सवारीसाधन २२ गतेसम्म बन्द रहनेछन्। एम्बुलेन्स, खाद्यान्न, तरकारी, खानेपानी, दूध, औषधि, फलफूल, फोहोरमैला, इन्टरनेट, वित्तीय संस्था, दूरसञ्चार, क्वारेन्टिन, आइसोलेसनसँग सम्बन्धित तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई रोक लगाइएको छैन।

स्वास्थ्यकर्मी, प्रहरी र फ्रन्टलाइनमा खटिनेहरूले ओहोरदोहोर गर्न पाउनेछन्। औषधि, स्वास्थ्य उपकरणका पसल खुला रहनेछन्। यसबाहेक खाद्यान्न पसलहरू बिहान १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न पाइनेछ। डिपार्टमेन्टल स्टोरहरूको ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्नेलगायतका नियम जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस