बाजुरा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषित

रासस

बुधबार, १५ बैशाख २०७८, १२ : ४२
बाजुरा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषित

बाजुरा । बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ जिल्ला घोषणा गरिएको छ ।‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई आठौँ जिल्लाका रुपमा ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’  घोषणा गरिएको हो । 

जिल्ला खोप समन्वय समिति बाजुराद्वारा मङ्गलबार यहाँ  सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य तथा अर्थ विकास प्राकृतिक स्रोत समितिका सभापति गोविन्द कुवँरले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरे । जिल्लाका नौवटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका खोप अधिकृत महेश चन्दले बताएका छन् ।

प्रत्येक पालिकामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पु¥याई उनीहरुले सबै खालका खोप पाएपछि सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

जिल्लामा हाल दुई हजार ११६ बालबालिकामध्ये आंशिक रुपमा खोप पाएका ४२ बालबालिका र एकजना खोप नै नपाएका बालबालिकालाई खोपको पहुँचमा ल्याएर पूर्ण खोप  सुनिश्चितता तथा दीगोपना घोषणा गर्न सफल भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए ।

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य कुँवरले महामारीका बेलामा सरकारले जनताको स्वास्थ्यमा खेलबाड गर्न नहुने बताए । जिल्ला समन्वय समिति बाजुराका  प्रमुख तथा खोप समन्वय संयोजक नरेन्द्रकुमार रोकायाले बालबालिकाले खोप पाउन स्थानीयस्तरका स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

अहिले महामारीका बेला स्वास्थ्यका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री र अस्पताल निर्माणका लागि बजेट दिनुपर्ने त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले प्रदेशका आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको र कैलालीमात्र बाँकी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस