ठिमुरा देवघाट जोड्ने पुल भाँचिएपछि ठेकेदार काशी भागे

सडक बिभागका महानिर्देशकले खाए कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाली

प्रकाश सिग्देल

शनिबार, ११ बैशाख २०७८, १७ : २१
ठिमुरा देवघाट जोड्ने पुल भाँचिएपछि ठेकेदार काशी भागे

चितवन । ठिमुरा देवघाट जोड्ने त्रिशुली नदी माथि बनिरहेको पक्की पुल भाँचिएपछि निमार्ण व्यवसायी काशी भागेका छन् । मानसिक रुपमा विक्षीप्त हुने अवस्था आएपछि काशि, हरिद्वार गएपछि दुखकष्ट हरण हुन्छ भन्ने कथन छ । त्यही मान्यतालाई अनुशरण गर्दै निमार्ण व्यवसायी मध्येका एक व्यवसायी निमार्णाधीन पुल भाचिए पछि यसबाट परेको असरको मानसिक बोझ सामना गर्न काशी हरिद्वार गएको सडक बिभागका अधिकारीहरुले बताएका छन् ।

चितवनको ठिमुरा देखी तनहुँको देवघाट जोड्ने पुलको ढलान गरिएको ४०/४० मिटरको दुई वटा स्ल्याव झण्डै ३ हप्ता अगाडी भाँचिएको थियो । पुल भाँचिएपछि विभिन्न निकायको दवाव थेग्न नसकेपछि ठेकेदार जोगी बन्न काशि जान्छु भनेर हिडेको र अहिले सम्पर्कमा नरहेको विभागका अधिकारीहरुले बताए । इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको हो ।

प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुलको स्ल्याव  भत्किदा अर्को १ वर्ष अगाडी ढलान गरिसकेको ४० मिटरको भागसमेत भत्किएको थियो । पुल २२० मिटर लामो र ८.५ मिटर चौडाइको बन्ने क्रममा रहेको थियो । पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बनिरहेको छ ।  बिभागका अधिकारीहरुले भने  भूकम्पको धक्काका कारणले पुल भत्किएको भन्दै निमार्ण ब्यवसायीलाई जोगाउने प्रयास गरेका छन् ।

निमार्ण ब्यवसायीले समयमै पुल निमार्ण गर्न नसकेपछि सडक डिभिजन कार्यालय चितवनले  पुल निमार्णका लागी २ पटक समय थप समेत गरेको थियो । ठेकेदार कम्पनीले राम्रो काम नगरेको र  समयमा नै काम हुन नसकेको भन्दै स्थानियले पटक–पटक विरोध गर्दै आएका थिए । सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको थियो ।

डिजाइन संशोधनमा १८ महिना, भूकम्पमा ६ महिना र नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो । पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो । निर्धारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेको बारे महालेखाले चासो व्यक्त गरेको थियो । २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भएको पुल २०७४ कात्तिक २० गते  भित्र बनाइसक्नुपर्ने थियो ।

कांग्रेसका वरिष्ठ  नेता रामचन्द्र पौडेलद्धारा महानिर्देशकलाई चेतावनी

आफु संसद हुँदा बजेट पारेको पुल निमार्णका क्रममा भाँचिएको खवर सुनेपछि पुलको निरिक्षणका लागी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सो स्थानमा पुगेका थिए  । पुलको निरिक्षण र स्थानिय संग कुरा गरेपछि बरिष्ठ नेता पौडेलले निमार्णका क्रममा लापरबाहिका कारण पुल भाचिएको ठहर गर्दै  सडक बिभागका महानिर्देशक अर्जुन जंग थापालाई फोन गरी पुल भाँचिनुको कारण मागेका थिए ।

सो क्रममा उनले लापरबाही गर्ने अधिकारीलाई कारबाही गरी वर्षात अगाडीनै भाँचिएको भाग खाली गरि नदिको सतह मिलान गर्न र तत्काल पुल निमार्णको काम थाल्न निर्देशन दिएका थिए । वर्षात अगाडी भाचिएर झरेको पुलको भाग हटाउन नसके त्यसले चितवन र देवघाट दुबै तर्फको जमिनको भाग कटान गर्ने र त्यसले गर्दा ठुलो बिपत सृजना हुने भन्दै तत्कालै भत्किएको भाग हटाउन निर्देशन दिए । जवाफमा महानिर्देशक ले अहिले ठेकेदार पिडामा परेर हरिद्वारतिर गएको र बिमा कम्पनिले निरिक्षण गरेपछि भाच्चिएको भाग हटाउछु भनेर जवाफ दिएको बताए ।

पुल भाचिनुको कारणमा भने भुकम्पको असर र अलिअलि प्राविधिक कमजोरी देखिएको भन्दै ठेकेदार कम्पनीको बचावट गरे । यसको रिपोर्ट तयार भईसकेको र प्राबिधिक रिपोर्टका आधारमा बाकि प्रक्रियामा जाने उनको भनाई थियो ।

तत्काल काम नगरे सडक डिभिजनमा ताला लगाउने समितिको  चेतावनी

देवघाट ठिमुरा घिनटार पक्किपुल निमार्ण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले निमार्ण ब्यवसायीको लापरबार्हीका कारण समस्या भएको बताए ।

 १५ दिन भित्र प्राबिधिक प्रतिबेदन सार्वजनिक गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिएको तर १५ दिन बितिसक्दा पनि अझै सार्वजनिक नभएको उनको भनाई छ । २० गते सम्म भत्किएको पुलको भग्नावशेस हटाएर काम अगाडी नबढाएमा सडक डिभिजनमा ताला लगाउने देखी अन्य कडा भन्दा कडा आन्दोलनका कार्यक्रम  गर्ने समितिले  चेतावनी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस