बाँकेमा २४ घण्टामा सातजना कोरोना सङ्क्रमितको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, ०९ : ५६
बाँकेमा २४ घण्टामा सातजना कोरोना सङ्क्रमितको मृत्यु

राँझा । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ ।  आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबारअर्थात् आज बिहान १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना सङ्क्रमितको मृत्यु भएको छ ।

जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ । 
 

प्रतिक्रिया दिनुहोस