हप्ता दिनपछि इन्टरनेट सेवा सुचारु

रासस

शुक्रबार, १० बैशाख २०७८, १९ : ०९
हप्ता दिनपछि इन्टरनेट सेवा सुचारु

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तादेखि अवरुद्ध बनेको इन्टरनेट सेवा आज दिउँसोबाट सञ्चालनमा आएको छ ।कालीकोटको महाबुलेखमा रहेको रिपिटर टावरमा खराबी आउँदा अवरुद्ध बनेको इन्टरनेट सेवा मर्मतपछि आज अपराह्न ३ः०० बजेदेखि सञ्चालनमा आएको हो । 

गत शनिबार बेलुकादेखि अवरुद्ध बनेको इन्टरनेट सेवा आजबाट सञ्चालनमा आउँदा जिल्लामा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई सहज भएको छ । महाबुलेखमा प्राविधिक टोली पुगेर रिपिटर टावरमा बिग्रेको सामान काठामाडौँबाट ल्याएर जडान गरेपश्चात आजबाट इन्टरनेट सेवा सञ्चालनमा आएको दूरसञ्चार प्राधिकरण कार्यालय सिमकोटका उब्जन शाहीले जानकारी दिए । 

आज बिहान प्राविधिकको टोली महाबुलेख पुगी मर्मत गरेर इन्टरनेट सेवा सञ्चालन हुँदा जिल्लाका सञ्चारमाध्यमदेखि अन्य सेवाग्राहीलाई सहज भएको छ । इन्टरनेट नहुँदा राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको कारोबारसमेत हप्ता दिनदेखि ठप्प थियो ।
 

प्रतिक्रिया दिनुहोस