पाथीभरा नाम हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १७ : ४३
पाथीभरा नाम हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । किरातीहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ बचाउन माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मण्डलामा प्रदर्शन गरिएको छ ।ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी अतिक्रमण गरेको भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका हुन् ।

Yeti Diistillery Tansen Cement box

किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति, याक्थुङ लेखक संघ, आदिवासी जनजाति साहित्यकार महासंघ तथा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायत संस्थाले ऐक्यबद्धता जनाउँदै मुक्कुमलुङको पहिचान जोगाउन माग गरे । उनीहरूले पाथीभरामा सञ्चालन गर्न लागिएको केबलकार परियोजनामा हुने वन विनाश तथा व्यापारिक चलखेल अन्त्य हुनुपर्ने मागसमेत राखेका छन् ।

‘लिम्बू समुदायको आस्थाको धरोहर मुक्कुमलुङ बचाऔं, पहिचान मास्न पाइँदैन, अतिक्रमणकारी पाथीभरा नाम हटाऔं’ लगायत नारा लगाउँदै अभियन्ताहरूले दुई घण्टा विरोध गरे ।उक्त अवसरमा सांस्कृतिक अतिक्रमणविरूद्ध कविता वाचनसमेत गरिएको थियो । आधा दर्जन कविहरूले सांस्कृतिक पहिचानको पक्षमा कविता वाचन गरे ।

पत्रकारसंग कुरा गर्दै गोविन्द आङ्बो लिम्बूले लिम्बू भाषामा ‘मुक्’ भनेको शक्ति र ‘लुङ’ भनेको पवित्र ढुंगा भएको बताए । जसअनुसार पाथीभरा डाँडामा शक्ति रहेको विश्वासका साथ लिम्बूहरूले धार्मिक अनुष्ठान गर्दै आएको उनले बताए ।

‘लिम्बू जातिको पुस्तौं पुस्तादेखिको बसोबास रहेको त्यस क्षेत्रको पहिचान नै अर्को बनाइएको छ,’ लिम्बूले भने, ‘पाथीमा धान भरेको जस्तो देखिने भएकाले पाथीभरा भनेर राज्य पक्षले मौलिकता विपरित प्रचार गरिरहेको छ ।’

कार्यक्रममा बोल्दै मगरात संघर्ष समितिका राम मगरले राज्यले नियोजित रूपमा आदिवासी–जनजातिको पहिचान नामेट पार्ने गरेको बताए । ‘यो देशमा आदिकालदेखि बस्दै आएको जाति र समुदायले राज्यले आज दोस्रो दर्जाको नागरिक बनाएको छ । जुन कुरा हामीलाई कदापि मान्य छैन,’ उनले भने ।

यस्तै आदिवासी जनजाति साहित्यकार महासंघका उपाध्यक्ष टंक सेलिङले राज्यले पाथीभरा नामकरण गरी मुक्कुमलुङको वास्तविक पहिचान समाप्त पारेको दाबी गरे । सेलिङका अनुसार विगतमा खुवालुङ जोगाउन भएको आन्दोलनजस्तै मुक्कुमलुङ जोगाउने आन्दोलन पनि निरन्तर हुनेछ ।प्रदर्शनमा अभियन्ताहरू सुमन सायमी, विद्या श्रेष्ठ, गोविन्द छन्त्याल, सुनिल आङ्बो लिम्बू, प्रेमिला राईलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस